• १२ मंसिर २०८१, बुधबार

हल्का वर्षापछि चर्को गर्मीबाट राहत

blog

धनगढी समाचारदाता

धनगढी, असार ६ गते । सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा हल्का वर्षा भएपछि चर्को गर्मीबाट केही राहत मिलेको छ । सोमबार अपराह्न र मङ्गलबार बिहान हल्का वर्षा भएको छ । आकाशमा कालो बादल मडारिँदा तापक्रम केही घटेको छ । 

यहाँको कैलाली र कन्चनपुर जिल्लामा पानी नपर्दा अन्नपात तथा तरकारी बाली सुकेको छ । अघिल्लो दिन पहाडी क्षेत्रमा हल्का वर्षा भएकोमा मङ्गलबार बिहान धनगढीसहितका केही क्षेत्रमा सिमसिमे वर्षा भएको हो । 

बिहानै पानी परेपछि गर्मीबाट राहत महसुस भएको धनगढी उपमहानगरपालिका–८ का हर्कबहादुर ओलीले बताउनुभयो । “बिहान पानी पर्दा शीतल महसुस भएको छ,” उहाँले भन्नुभयो । लामो समयसम्म खडेरी पर्दा स्थानीयलाई घरभित्र बस्नसमेत समस्या भएको छ । 

धेरै दिनसम्म पश्चिमी वायुको प्रभाव रहँदै आएको यस क्षेत्रमा वर्षासँगै पूर्वबाट हावा चल्न थालेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । विगत केही दिनदेखि चर्को घाम र पश्चिमबाट तातो हावा चल्दा जनजीवन निकै प्रभावित भएको थियो । 

वर्षापछि हावा अलि चिसो चलेकाले गर्मीबाट धेरै राहत मिलेको स्थानीय मोतीकुमारी महतोले बताउनुभयो । “घरभित्रै पनि बस्न सक्ने अवस्था थिएन । राति सुत्नै गाह्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “अहिले धेरै राहत भएको छ ।” 

सुदूरपश्चिम प्रदेशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । 

भारतको गुजरात–पूर्वी राजस्थान–उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेको वायुका कारण वर्षा भएको जनाइएको छ । हल्का वर्षा भई गर्मीबाट थोरै राहत भए पनि खडेरी भने कायमै रहेको छ । 

पर्याप्त वर्षा नहुँदा किसानलाई रोपाइँ गर्न समस्या भएको छ । ब्याड तयार भएपछि कतिपय किसानले खडेरीमै डिप बोरिङको भरमा रोपाइँ गर्न थालेका छन् । यहाँका धेरैजसो किसान पानीको पर्खाइमा छन् ।

पूर्वी नेपालमा भारी वर्षासँगै भीषण बाढीपहिरोको समाचार सुदूरपश्चिमका स्थानीयका लागि अनौठो र अपत्यारिलो जस्तै बनेको छ । टन्टलापुर घाम र चर्को गर्मीले बिहान ७ बजेदेखि साँझसम्म घर बाहिर निष्कन सक्ने अवस्था छैन ।