• २० असोज २०८१, आइतबार

श्रीलङ्का टापुमा कटान तीव्र

blog

सुनसरी समाचारदाता

इटहरी, असार ६ गते । सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुर जिल्लाको बिचमा पर्ने श्रीलङ्का टापुमा कटान तीव्र बनाएको छ। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा मङ्गलबार अपराह्नबाट कटान तीव्र बनेको हो। 

वराहक्षेत्र–६, शिबाइ टोलकी शान्ति चन्द्रवंशीले नदीमा अपराह्नबाट तीव्र बहावसँगै आएको बाढीले शिबाइ टोल अगाडिको क्षेत्र कटान गरिरहेको बताउनुभयो। बेलका–८ अन्तर्गत पर्ने अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केही माथिबाट पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिनुभयो। 

पूर्वी पहाडी जिल्लामा केही दिनदेखि परेको अविरल वर्षापछि कोशी नदीमा अत्यधिक पानीको मात्रा भएकाले कटान तीव्र भएको वडाध्यक्ष राईले बताउनुभयो। नदीले अहिलेसम्म २५ मिटरभन्दा बढी कटान गरिसकेको छ। यही क्रमले कटान भएमा नजिकै रहेको मानव बस्तीसमेत प्रभावित हुने उहाँको भनाइ छ। 

कटान गरेको स्थानबाट बाढी गाउँ पसे बेलका नगरपालिकाका तीन वटा वडाको मानव बस्ती जोखिममा पर्ने छ। बेलकाको वडा नम्बर ८ र ९ अन्तर्गत पर्ने सिमालटार र धौरीका साथै वडा नम्बर ३ को दुर्गा बन्दी, मिलन चोक, एबिसी टप्पु, बुधबारेलगायतका गाउँ प्रभावित हुने बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताउनुभयो। 

प्रमुख कार्कीका अनुसार सप्तकोशी नदीको कटान रोक्नका लागि तत्काल तारजाली लगाउने योजना बनाइएको छ। उहाँले नगरपालिकामा रहेको विपत् व्यवस्थापन समितिको स्तरबाट कटान रोकथामको काम प्रारम्भ गरिने बताउनुभयो। सप्तकोशी नदीमा आएको बाढीले गत वर्ष पनि सो क्षेत्रमा व्यापक कटान गरेको थियो।