• २० असोज २०८१, आइतबार

कोशी राजमार्ग अवरुद्ध

blog

ध्यान कुलुङ

सङ्खुवासभा, असार ६ गते । उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका सडकखण्ड अवरुद्ध भएको छ। सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो। 

मुख्य गरी मकालु गाउँपालिकाको देउराली, नुम बजार छेउ, फ्याक्सिन्दा दोभान पारी, सामाटारलगायतका ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो र बाढीको कारण ठाउँ ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारीसाधन सञ्चालन हुन सकेको छैन। यस सडक मार्फत मकालु गाउँपालिका र भोट खोलाका बासिन्दा आवतजावत गर्ने गर्दछन्।

बाढी र पहिरोबाट अवरुद्ध भएको सडक खुलाउनका लागि स्काभेटर परिचालन गरिएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। भत्किएको सडक मर्मतका लागि फरक फरक ठाउँमा चार वटा स्काभेटर परिचालन गरिएको आयोजनाका इन्जिनियर रेशम ओलीले जानकारी दिनुभयो।

सडक अवरुद्ध भएको क्षेत्रमा लगातार पानी परेकोले सडक खुलाउन समय लाग्ने इन्जिनियर ओलीको भनाइ छ। पानी नपरे पुरै सडक खुलाउन करिब पाँच दिन लाग्ने उहाँले बताउनुभयो। अन्यत्र बाटो खुले पनि सामाटारमा लगातार पहिरो गइरहने भएकोले समस्या रहेको समेत ओलीको भनाइ छ।

यस सडक खण्डमा समयमा नै यातायात सुचारु नभए भोट खोला गाउँपालिकामा खाद्यान्न सङ्कट हुने छ। अघिल्लो वर्ष पनि सामाटारमा गएको पहिरो महिना दिनसम्म खुल्न नसक्दा खाद्यान्न सङ्कट भएको थियो। कोरोना सङ्क्रमण अघि चीनको तिब्बतबाट खाद्यान्न ल्याइए पनि हाल नाका बन्द हुँदा खाद्यान्न सङ्कट हुने गरेको छ।