कपिलवस्तु समाचारदाता
कपिलवस्तु, असार ६ गते । केरा चोरी हुने समस्या र अर्कोतिर केरा खेतीका लागि सिँचाइको व्यवस्था नभएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाकी एक महिला कृषकले केराबारीमा आगो लगाएर आक्रोश पोख्नुभएको छ ।
विजयनगर गाउँपालिका–६, थरौलीमा करिब सात सय केरा बोट आगो लगाएर नष्ट गरिएको छ । चार लाख लगानी गरी लगाइएको आठ कट्ठा क्षेत्रफलको केरा खेती नष्ट गरिएको हो । कृषक लालसरी घर्तीमगरले रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्नयोग्य केरा रातभरिमा चोरी हुने गरेको पीडा सुनाउनुभयो ।
उहाँले भन्नुभयो, “बिहान व्यापारी आउने बेलामा बोटमा केरा नै हुँदैन । सिँचाइ गर्नलाई पानी छैन । पश्चिमी हावाले बोट ढाल्न लाग्यो । केरा खेती मासेर धान लगाउनका लागि बारीमा आगो लगाएकी छु ।”
कृषक लालसरीले पहिलो पटक केरा खेती गर्नुभएको थियो । भैरहवाबाट आएका केही व्यापारीको आग्रहमा ‘जी नाइन’ जातको सात सय केराको बोट लगाउनु एको थियो । केरा खेतीबाट मनग्गे आम्दानी हुने देखिएपछि २०७८ फागु्नदेखि खेती सुरु गर्नुभएको थियो । पहिलो सिजनमा उहाँले करिब ३० हजार रुपियाँको केरा बिक्री गर्नुभएको थियो ।
पछिल्लो समय केरा चोरी भएका कारण आम्दानी कम भएको उहाँले बताउनुभयो । कृषकले भोगेका समस्या समाधानका लागि पालिकाले योजना बनाउने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापामगरले बताउनुभयो ।
उहाँसँग भेटघाट गरी निकासका लागि पहल हुने थापाले विश्वस्त पार्नुभयो । भूमिहीन सुकमवासी भएको हुँदा घरनजिकै रहेको खाली वन क्षेत्रमा लालसरीले केरा खेती गर्नुभएको थियो ।