• २९ वैशाख २०८२, सोमबार

‘खुला र नचिप्लिने जुत्ता नै ठिक’

blog

काठमाडौँ, असार ६ गते ।  नेपालमा मनसुन भित्रिएसँगै फेसनपारखीमा पनि कस्तो जुत्ता–चप्पल लगाउँदा ठिक होला भन्ने सोचाइ आउन थालेको छ । गर्मी र जाडोमा फरक फरक किसिमका जुत्ता लगाउन रुचाउने फेसनपारखी यो मौसममा खुला तथा नचिप्लिने खालका जुत्ता–चप्पल लगाउन उपयुक्त ठान्छन् । 

जुत्ता व्यवसायी निरक रायमाझी मौसम अनुसार महिला र पुरुषले फरक किसिमका फेसनेबल जुत्ता रोज्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिला साडी वा ब्यागसँग म्याचिङ हुने, हिल भएको र आकर्षक देखिने जुत्ता–चप्पल रोज्छन् भने पुरुष धेरै समय टिक्ने जुत्ताको खोजीमा हुन्छन् ।”

महँगा जुत्ता–चप्पल रोज्नेलाई धेरै पिरोलो छ । कसैलाई आफ्नो जुत्ता–चप्पल वर्षाले बिगार्ला भन्ने पिर छ भने कसैलाई कमसल लगाउँदा आफ्नो व्यक्तित्वमा असर गर्ला भन्ने तनाव हुन्छ । त्यसैले मौसमलाई ध्यानमा राखेर व्यवसायीले महिलाको रोजाइ र आवश्यकता अनुसार विभिन्न किसिमका जुत्ता–चप्पल, क्लोज सुज र स्यान्डल बजारमा भित्र्याउन थालेका छन्। मनसुनका लागि पानीले भिज्दा पनि केही नहुने विभिन्न रङ र डिजाइनका जुत्ता–चप्पल पाइन थालेको व्यवसायी राकेश चौधरी बताउनुहुन्छ। 

पिपल्स प्लाजाका जुत्ता व्यवसायी मुकेश कार्की वर्षाका लागि नचिप्लिने र हलुका खालका जुत्ताको माग बढी हुने बताउनुहुन्छ ।  यो मौसममा जुत्ता–चप्पल छनोट गर्दा लचिलो सोल, वाटरप्रुफ, सिलाइ गर्न मिल्ने, फिस चप्पल, हाफ स्लिपर छनोट गर्नु राम्रो हुन्छ ।  पानी छिर्ने खालका जुत्ता–चप्पल पनि छनोट गर्नु हुँदैन । यसले पछाडिबाट पानी छ्याप्दा लुगा फोहोर हुन्छ । 

गर्मी र बर्सातको समयमा स्पोर्ट्स सुज राम्रो विकल्पमा पर्ने कार्की दाबी गर्नुहुन्छ । यो सदाबहार डिजाइन हो । दैनिक प्रयोजनका लागि सबैभन्दा उपयुक्त हुने स्पोटर्स सुज चिप्लिने समस्या पनि कम हुन्छ । पानीले केही भिजाउने भए पनि नबिग्रिने भएकाले यो उपयुक्त हुन्छ । बर्सातको समयमा घरबाहिर जाँदा हिल वा स्निकर भने नलगाउँदा नै राम्रो हुने कार्की बताउनुहुन्छ । आफूले लगाएको जुत्ता सफा पानी, कपडा वा ब्रसले दैनिक सफा गर्नु पर्छ । यसो गर्दा जुत्ता टिकाउ हुन्छ । हामीले जुत्ता बचाउन कभर पनि लगाउन सक्छौँ ।