• १४ मंसिर २०८१, शुक्रबार

काठमाडौँ महानगरपालिकाको राजस्व सङ्कलनमा सुधार

blog

काठमाडौँ, असार ६ गते  । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म आठ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । 

चालु आवमा १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा महानगरले ११ महिनामा आठ अर्ब २९ करोड ९४ लाख ५९ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । 

गत आवमा नौ अर्ब आठ करोड ७० लाख १३ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा आठ अर्ब ३० करोड ६१ लाख १० हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । 

आन्तरिक आय, राजस्व बाँडफाँट, आन्तरिक अनुदानलगायतका शीर्षकमा महानगरले राजस्व सङ्कलन गर्ने गरेको छ । चालु आवमा राजस्व सङ्कलनको लक्ष्य ७९ प्रतिशत पूरा गरेको महानगरले जनाएको छ । 

महानगरपालिकाले चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड उठाएको हो । जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ । 

विभागका अनुसार आव २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोड मात्रै आन्तरिक आय सङ्कलन गरेको थियो । महानगरपालिकाले आन्तरिक आयतर्फ घर बहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

यस्तै सम्पत्ति कर ९१ करोड ३३ लाख राजस्व सङ्कलन भएको छ । जुन अघिल्लो आवको भन्दा १२ करोड रुपियाँले बढी हो । 

सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा लाग्ने करबापत १२ करोड ३० लाख ८२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । सम्पत्ति करबापत ९१ करोड ३३ लाख २६ हजार रुपियाँ, भूमिकर/मालपोत १० करोड ९७ लाख एक हजार, घर बहाल कर एक अर्ब ९२ करोड १२ लाख ८० हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । अन्य व्यक्तिगत आन्तरिक अनुदान २५ करोड २७ लाख २२ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

यस्तै पर्यटन शुल्कबापत ९३ करोड ५४ लाख ७९ हजार रुपियाँ, अन्य बिक्रीबाट प्राप्त रकम ३९ लाख ९७ हजार रुपियाँ, अन्य सेवा शुल्कबापत १६ करोड ४१ लाख ७९ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ ।  

यस्तै नक्सा पास दस्तुरबापत ९१ करोड ९९ लाख ७८ हजार रुपियाँ, सिफारिस दस्तुर छ करोड ३० लाख ८५ हजार रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ । व्यक्तिगत घटना दर्ता दस्तुर ११ लाख ९३ हजार, नाता प्रमाणित दस्तुरबापत ५० लाख १४ हजार, व्यावसायिक रजिस्टे«सन दस्तुर ४८ करोड ४३ लाख ३५ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबापत २० करोड ५९ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । 

यस्तै घरजग्गा रजिस्टे«सन दस्तुरबापत ९१ करोड ९९ लाख ८८ हजार, बाँडफाँट भई प्राप्त हुने मूल्य अभिवृद्धि कर २० करोड ३४ लाख, बाँडफाँट भई प्राप्त हुने सवारीसाधन करबापत चार करोड ६५ लाख, मनोरञ्जन करबापत एक करोड २४ लाख सात हजार, विज्ञापन करबापत दुई करोड २५ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन भएको छ । 

शिक्षा क्षेत्रको आम्दानी ४७ लाख ६७ हजार, अन्य प्रशासनिक सेवा शुल्क १२ लाख २३ हजार, पार्किङ शुल्कबापत एक करोड २४ लाख रुपियाँ राजस्व सङ्कलन भएको महानगरले जनाएको छ ।