काठमाडौं, असार ५ गते । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताउनुभएको छ ।
सर्वोच्च अदालत लामो समयदेखि कार्यवाहक प्रधानन्यायाधीशको नेतृत्वको भरमा चल्नुपरेको कारण न्यायिक काम कारबाहीलाई प्रभावित बनाएको उल्लेख गर्नुहुँदै उहाँले अदालतको स्वतन्त्रतालाई जोगाइराख्न प्रेस जगतले अतुलनीय सक्रियता देखाएको भन्दै उच्च प्रशंसा गर्नुभयो ।
प्रेस काउन्सिल नेपालको टोलीसँग मङ्गलबार उहाँले प्रेस जगत् र बार एसोसिएसन प्रधानन्यायाधीश नियुक्तिका लागि नलडेको भए आजको दिन आउन मुस्किल पर्ने थियो भन्दै आफूले उक्त पक्षलाई कहिले भुल्न नसक्ने समेत बताउनुभयो ।
‘‘मैले कानुनव्यवसाय गर्दा होस् या मानवाधिकारकर्मीका रूपमा काम गर्दा प्रेस र बारको अधिकारका लागि लडेको थिएँ । अहिले प्रेस र बारबाटै रिवार्ड पाएको छु ।,’’ प्रधानन्यायाधीश कार्कीले थप्नुभयो, ‘‘मेरो छोटो कार्यकाल छ, तर पनि प्रेस स्वतन्त्रताका लागि अझै आफ्नो भूमिका आइपरे सोका लागि प्रतिबद्ध छु ।’’
प्रधानन्यायाधीशको च्यामबर सर्वोच्च अदालतमा भएको शुभकामना भेटघाट कार्यक्रममा कार्कीले छोटो समय भए पनि आफ्नो कार्याकालमा न्यायिक स्वच्छता कायम राख्न उल्लेखनीय कदम चाल्ने जानकारी दिनुभयो ।
न्यायालय अझै आर्थिक रूपमा स्वायत्त हुन नसकेको उल्लेख गर्नुहुँदै प्रधानन्यायाधीश कार्कीले कुल राष्ट्रिय बजेटको एक प्रतिशत पनि छुट्टिन नसकेकोमा सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।
‘‘यो पाटोलाई पनि अहिले न्यायालयको स्वतन्त्रताका लागि लड्ने पक्षहरूले विचार गर्नुपर्ने अवस्था आएको छ ।,’’ कार्की भन्नुभयो, ‘‘कतिपय अदालतका भवनहरू पुराना र जीर्ण छन्, कतिपय अदालतहरू चल्नै नसक्ने अवस्थामा छन् । कतिपय अदालतमा भिडभाडको अवस्थामा पाकेटमारको समस्या छ । यसलाई व्यवस्थित गर्न पनि तपाईँहरूले आवाज उठाइदिनुपर्ने अवस्था छ ।’’
काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको नेतृत्वमा गएको टोलीमा बोर्ड सदस्यद्वय दीपक पाण्डे र ठाकुर प्रसाद वेल्वासे, काउन्सिलका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज लुइँटेल, काउन्सिलका निमित्त मुख्य अधिकृत दीपक खनालसहितको सहभागिता थियो ।
अध्यक्ष बस्नेतले स्वतन्त्र र सक्षम न्यायपालिकाबाट मात्र प्रेसको स्वतन्त्रता बच्ने उल्लेख गर्नुभयो । उहाँले न्यायालयको स्वतन्त्रता न्यायाधीशका लागि नभई आमजनतालाई बलियो बनाउन र प्रणाली बसाउनका लागि भएकाले त्यसतर्फ दुवै अङ्गका क्रियाकलाप केन्द्रित हुनुपर्ने धारणा राख्नुभएको थियो ।