काठमाडौं, असार ५ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । मङ्गलबार नेपाल स्काउटको ७२ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल स्काउटले दक्षिण एसियामा स्काउटमा सबैभन्दा बढी सदस्यता लिनसक्नु साथै अन्तर्राष्ट्रिय स्काउटका कार्यक्रमहरू नेपालमा सञ्चालन गर्नुले पनि स्काउटले राम्रा काम गरिहरेको प्रमाणित हुने बताउनुभयो ।
पूर्वराष्ट्रपति भण्डारीले कोरोना महामारीका बेलामा पनि स्काउटले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले देशमा आइपर्ने प्राकृतिक एवम् अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आउनु राम्रो भएको भन्दै अझै यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।
‘‘कोभिड १९ को महामारीमा पनि नेपाल स्काउटले उल्लेखनीय भूमिका खेलेको छ । नेपाल स्काउटले चिकित्सक परामर्श सेवा, जनचेतना अभियान, आइसोलेसन, क्वारेन्टिन निर्माणका साथै सङ्क्रमितहरूको शवको व्यवस्थापन समेतमा गरेको सहयोगका लागि सम्पूर्ण स्काउटप्रति सम्मान व्यक्त गर्दछु । देशमा आइपर्ने प्राकृतिक एवम् अन्य विपद्को समयमा विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार कार्यमा पनि नेपाल स्काउट सदैव अग्रमोर्चामा रहँदै आएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘सातै प्रदेशमा विपद् व्यवस्थापन टोली खटाइ स्काउट परिचालन भएको थाहा पाउँदा खुसी लागेको छ ।’’
पूर्वराष्ट्रपति भण्डारीले नेपाल स्काउटले माजमा कलङ्कको रूपमा रहेको लागूऔषधबाट युवाहरू टाढा राख्ने कुरा, महिला हिंसाविरुद्धका अभियान लगायत विभिन्न सामाजिक घटननाहरुमा साथ र सहयोग गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।