शेरबहादुर सार्की
बाजुरा, असार ५ गते । जिल्लाको पूर्वी उत्तर क्षेत्रको स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । बाढीपहिरो तथा कुपोषणबाट प्रभावित स्वामिकार्तिक गाउँपालिकाका झण्डै आठ सय बढी दलित परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
गत वर्ष परेको अविरल वर्षाका कारण प्रभावित बनेका स्वामिकार्तिक गाउँपालिकाका दलित परिवारलाई नेपाल सरकारको क्षेत्रिय पोषण कार्यक्रमअन्तर्गत राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । बाढीपहिरोले घरवास तथा जमिन बगाएपछि खाद्यानको सङ्कटमा परेका दलित परिवारलाई गाउँपालिकाले राहत वितरण गरेपछि परिवारमा खुसी छाएको छ ।
गाउँमा खाद्यान सङ्कट परेको समयमा गाउँपालिकाले घरघरमै आएर खाद्यान सामग्री दिएपछि केही दिनका लागि छाक टार्न सहज भएको स्वामिकार्तिक गाउँपालिका–१ मुक्तीकोटका स्थानीय होइजाली विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष आएको बाढीपहिरोेले घरवास तथा कमाइ खाने जमिन नै बगाएपछि खाद्यान सङ्कट परेको छ ।”
दलित परिवारको यो अवस्थालाई मध्यनजर गर्दै स्थानीय सरकारले दलित परिवारको घरमै पुगेर चामल, दाल र तेललगायतका खाद्यान सामग्री वितरण गरेपछि आफू जस्तै यहाँका बाढीपहिरो पीडित परिवारको मुहारमा खुसी छाएको विकको भनाइ छ ।
त्यसैगरी, स्वामिकार्तिक गाउँपालिका–१ मुक्तीकोटका स्थानीय दलित महिला पान्ता विकले गत वर्षको असोज महिनाको २३ देखि २६ गतेसम्म लगातार परेको अविरल वर्षाका कारण बाढीपहिरोले घरवास तथा खेती समेत पहिरोले पुरिदिएपछि अहिले कता जाने, के खाने भन्ने समस्या थियो । गाउँपालिकाबाट अहिले राहत पाएपछि केही दिनका लागि भए पनि छाक टार्न सहज भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “योभन्दा पहिला पनि गाउँपालिकाले विस्थापित भएका दलित परिवारलाई खाद्यान, कपडा, भाँडा र त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको हो ।”
बाजुराको यो दुर्गम बस्तीमा विभिन्न समस्या छ । पछिल्लो समयमा गाउँपालिकाले यहाँका विभिन्न समस्याको समाधानका लागि प्रदेश तथा सङ्घीय सरकारका विभिन्न निकायसँग पहल गर्दै आएको छ । यसभन्दा पहिला गाउँपालिकाकाले विद्युतको पहुँच नभएको बस्तीमा सोलारको व्यवस्था गर्दै आएको थियो ।
स्वामिकार्तिक गाउँपालिकाका अधिकांश वडामा सडक सञ्जालको पहुँचमा पुग्न लागेको समयमा नै बाढीपहिरोले ती सडक अवरुद्ध भएका छन् । यसरी सडक अवरुद्ध बन्दै गएपछि यहाँका बाढीपहिरो प्रभावित परिवारलाई समयमै खाद्यान वितरण गर्न समस्या भएको थियो ।
सडक गाउँपालिकाले मर्मत गर्दै आएपछि अहिले गाउँमा राहत वितरण गर्न निकै सहज भएको बताइएको छ । स्वामिकार्तिक गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बाढीपहिरोबाट प्रभावित बनेका गाउँपालिकाका झण्डै आठ सय बढी दलित परिवारलाई ३० किलो चामल पाँच किलो दाल, एक लिटर तेललगायतको खाद्यान सामग्री वितरण गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बर्सेनि यहाँका दलित परिवार बाढीपहिरोबाट प्रभावित बन्दै गएकाले उनीहरूको नयाँ जन्मेको बालबालिकाहरूमा कुपोषण भेटिने गरेकाले गाउँपालिकाको पहलमा राष्ट्रिय योजना आयोगको पोषण महाशाखामा समन्वय गरेर उनीहरूलाई पोषणयुक्त खाद्यान सामग्री समेत वितरण गरेको हो ।”
यसअघि स्वामिकार्तिक गाउँपालिकाका वडा नम्बर –४ का ९०, ५–का ७८, ४–१९२, २–का १६ जना दलित परिवारलाई खाद्यान सामग्री वितरण गरेको थियो । त्यही राहत दिने क्रममा हिजो स्वामिकार्तिक–१ को मुक्ति टोलका ४४० दलित परिवारलाई खाद्यान सामग्री वितरण गरेको हो ।
बाढीपहिरोबाट दलित परिवार सँगसँगै अन्य धेरै परिवार समेत बाढीपहिरोबाट प्रभावित भएका छन् । उनीहरूको घरवास तथा खाद्यान व्यवस्था गर्नका लागि विभिन्न संघ संस्थाहरूसँग समन्वय गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो ।