• २० असोज २०८१, आइतबार

हेलिकप्टरमार्फत उद्धार गरिएका घाइतेलाई अस्पताल पुर्‍याइयो

blog

विराटनगर पुर्‍याइएका राजकुमार राईलाई अस्पताल लैजान हेलिकप्टरबाट ओरालिँदै । तस्बिर: विवेक बानियाँको फेसबुकबाट

चन्द्र पन्दाक

ताप्लेजुङ, असार ५ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा परी घाइते भएका राजकुमार राईलाई दुई दिनपछि अस्पताल पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भए पनि घाइते राईलाई मङ्गलबार बिहान मात्र विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको छ । 

कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्बोका स्वकीय सचिव विवेक बानियाँले मौसम अनुकूल भएसँगै घाइते राईलाई मङ्गलबार बिहान ७ः३५ बजे विराटनगर पुर्‍याइएको बताउनुभयो । बानियाँका अनुसार मेहेलेदेखि सोमबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको भए पनि मौसममा आएको खराबीका कारण हेलिकप्टर पाँचथरको पिनासेघाटमा अवतरण गराउनुपरेको थियो ।

पिनासेघाटमा अवतरण गराएको हेलिकप्टर मौसममा सुधार नआएपछि मङ्गलबार बिहानसम्म त्यहीँ राख्नुपरेको थियो । उपचारका लागि उद्धार गरिएका राईलाई गन्तव्यमा पुर्‍याउन नसकिएपछि सोमबार साँझ पाँचथर, हिलिहाङस्थित गोपेटार प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मी र औषधि झिकाएर उहाँको प्राथमिक उपचार गरिएको बताइएको छ ।

गत बिहीबारदेखिको निरन्तरको वर्षाका कारण सोमबार बिहान मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी ४५ वर्षीय राई गम्भीर घाइते हुनुभएको हो । सोही पहिरोमा परी एकै परिवारका बाबुछोराको मृत्यु भएको थियो । मृत्यु हुनेमा ६७ वर्षीय केशरबहादुर राई र उहाँका छोरा ३६ वर्षीय सुरेश राई रहनुभएको छ । 

यता दाहसंस्कार गर्ने आफन्त जिल्ला बाहिर रहेका कारण बाबुछोराको शव हाल मेहेलेस्थित निलगिरी माध्यमिक विद्यालयमा राखिएको सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरियाले जानकारी दिनुभयो । उपाध्यक्ष कडरियाका अनुसार वर्षाको क्रम जारी रहेकाले पहिरोको जोखिममा परेका दर्जनौँ परिवारका सयौँ सङ्ख्यामा स्थानीयहरू सुरक्षित ठाउँमा मानिएको सोही निलगिरी माविमा बस्दै आएका छन् ।