• ४ जेठ २०८१, शुक्रबार

अग्रज कलाकारका कला प्रदर्शनी

blog

काठमाडौँ, असार ५ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) परिसरमा अग्रज कलाकारहरूका चित्रकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको पूर्वप्रधानमन्त्री झलनाथ खनालले सोमबार एक समारोहबिच उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले नेपाल कलाको खानी भएको बताउनुभयो । उहाँले ललितकलाका असङ्ख्य विधामध्ये सात विधाको प्रचार गर्ने पनि बताउनुभयो । 

उहाँले नेपाली कलाको सिर्जनशीलता निकै माथि पुगेको हालै सम्पन्न राष्ट्रिय ललितकला प्रदर्शनीबाट प्रस्ट भएको धारणा व्यक्त गर्नुभयो । उहाँले कलाकारलाई आवश्यक प्रोत्साहन र वातावरणका निमित्त तीनवटा प्रतिष्ठान बनेको तर बजेट र नीतिको कमी रहेको औँल्याउँदै सरकारले ती विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।  

‘अन्तर सम्बन्ध–२०८०’ नाम दिइएको प्रदर्शनीमा अग्रज कलाकार शशी शाह, कृष्ण मानन्धर, स्व. इन्द्र प्रधान र वत्सगोपाल वैद्य अर्थात् स्किब–७१ को चित्रकला राखिएका छन् । उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विगतका विरासतसँग अग्रजको भूमिकालाई जोडेर अगाडि बढाउन जरुरी भएको धारणा व्यक्त गर्नुभयो । उहाँले विविध कुरालाई सम्बोधन गर्न राष्ट्रिय ललितकला सम्मेलन र सर्भे पनि गरिने योजनाको जानकारी गराउनुभयो ।  

अग्रज कलाकार कृष्ण मानन्धरले आफूहरूले मुम्बईबाट अध्ययन गरेर फर्किएपछि समूह बनाएर कला गतिविधि गर्ने र आर्ट ग्यालरी खोल्ने काम गरेको स्मरण गर्नुभयो । उहाँले विगतको तुलनामा अहिले धेरै कलाकार जन्मिसकेकोमा खुसी पनि व्यक्त गर्नुभयो ।  अग्रज कलाकार शशीविक्रम शाहले सङ्गठनात्मक रूपमा काठमाडौँमा कलाको विकासका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “सङ्गठनबाटै कलाको इतिहास बनाउनु पर्छ भनेर शशी शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, इन्द्र प्रधान एकढिक्का भएर आयौँ ।” नेपालको कला क्षेत्र स्किब–७१ बाटै सङ्गठनात्मक रूपमा जान पनि नयाँ पुस्तालाई उहाँले आग्रह गर्नुभयो । 

प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले अग्रज कलाकारको प्रदर्शनीलाई निरन्तरता दिने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अग्रज र दिवङ्गत कलाकारको प्रदर्शनीको सुरुवात गरेका छौँ । आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिन्छौँ ।” उपकुलपति लालकाजी लामाले प्रतिष्ठानले स्थापनाकालदेखि नै कलाको उत्थानका लागि विविध गतिविधि गर्दै आएको जानकारी गराउनुभयो । प्रदर्शनी असार १२ सम्म चल्ने छ ।