• १२ साउन २०८१, शनिबार

चार दलद्वारा समाजवादी मोर्चा घोषणा

समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद

blog

भृकुटीमण्डपमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुद्वारा समाजवादी मोर्चा घोषणा । तस्बिर : विकास द्वारे

काठमाडौं, असार ४ गते । सत्तरुढ गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी पार्टी र सत्ताबाहिर रहेको नेकपा कम्युनिष्ट पार्टी मिलेर समाजवादी मोर्चा नेपाल घोषणा भएको छ ।

सोमबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा कार्यक्रममा चार दलका प्रमुखहरुले सात बुँदे घोषणापत्रमा हस्ताक्षर गर्दै समाजवादी मोर्चा घोषणा गरेका हुन् ।

समाजवादी मोर्चा नेपालको सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

उक्त सहमतिपत्रमा समाजवादी मोर्चाको प्रमुख उद्देश्य नेपाली विशेषताको समाजवाद रहने उल्लेख छ ।  यसैगरी, समाजवादी मोर्चाको प्रस्तावना, उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङ्गठनात्मक संरचना, सचिवालय, सदस्यता र घटक दलहरूको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया, नीति तथा कार्यक्रमलगायतका मुख्य विषय छन् ।

मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति हुने जनाइएको छ ।

मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रम कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने जसमा सदस्य दलहरुबाट तोकिए अनुसार प्रतिनिधि रहने छन् ।

मोर्चाको उद्देश्य तथा नीतिगत प्रतिबद्धतामा लेखिएको छ, ‘‘सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्नु मोर्चाको प्रमुख उद्देश्य हुने छ । त्यस उद्देश्य प्राप्तिका लागि हाम्रा वैचारिक एवम् राजनीतिक प्रतिबद्धताहरू निम्नबमोजिम रहेका छन् ।’’