• ११ मंसिर २०८१, मङ्गलबार

कोहलपुर नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी

blog

कोहलपुर नगर शिक्षा शाखामा तालाबन्दी गर्दै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, असार ४ गते । अनेरास्ववियू (क्रान्तिकारी) ले बाँकेको कोहलपुर नगरपालिकाको नगर शिक्षा शाखामा सोमबार अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफ्ना मागहरू पुरा नभएको भन्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । 

अनेरास्ववियू (क्रान्तिकारी) का बाँके संयोजक विश्वजितले ८ वटा बुँदामा रहेका मागलाई सम्बोधन नभएसम्म आफूले लगाएको तालाबन्दी नखोलिने जनाउँदै बलजब्ती तोडफोड गरेर ताला खोल्ने प्रयास गरिएमा त्यसपछिको अवस्थाको जिम्मेवार नगर शिक्षा शाखा नै हुने बताउनुभयो । उहाँले भन्नुभयो, "महिनौँ पुगिसक्दा समेत स्थानीय सरकार र त्यसको शिक्षा शाखाले हाम्रा मागहरूप्रति सामान्य छलफल र बहस नै नगर बेवास्ता गर्नुले शैक्षिक व्यापारीप्रति स्थानीय सरकारको लचकता, निरिहता र शिक्षाप्रतिको गैर जिम्मेवार पूर्ण रवैया प्रकट गरेको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) का बाँके संयोजक विश्वजितले मागहरूबारे वास्ता नगरिएकोले दोस्रो चरणको सङ्घर्षको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरिएको बताउनुभयो । 

अनेरास्ववियू (क्रान्तिकारी) का मागहरू बारे जानकारी माग्दा कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख रामबहादुर हमालले विद्यार्थीका मागहरू पुरा गर्ने निकाय नगर शिक्षा शाखा नभई नगरपालिका र राष्ट्रिय स्तरबाट सम्बोधन हुने भएकोले यहाँबाट माग बारे समन्वय मात्र गरिरहेका बताउनुभयो । 

अनेरास्ववियू (क्रान्तिकारी) ले अघि सारेका आठ बुँदे मागहरूमा सामुदायिक विद्यालयमा विद्यार्थीहरूबाट मासिक शुल्क, भर्ना शुल्क लगायतका विभिन्न बहानामा लिइने शुल्क खारेज गर्नुपर्ने, सार्वजनिक जिम्मेवारी तथा पदधारण गरेका व्यक्तिहरूले निजी शिक्षण संस्थामा लगानी गर्ने कार्य बन्द गरिनुपर्ने, राजनीतिक भागबण्डाको आधारमा गरिने शिक्षक, प्राध्यापक तथा कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने, विद्यालयको शैक्षिक गुणात्मक एवम् भौतिक सुधारमा विशेष जोड दिनुपर्ने, बढिरहेको महिला हिंसालाई मध्यनजर गर्दै विद्यालयहरूमा छात्राहरूको आत्मसुरक्षा र सशक्तीकरणका लागि ‘आत्म सुरक्षा तालिम’ सञ्चालन गर्नुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीहरूको लागी छुट्टयाईएको वर्गीकृत छात्रवृत्तिमा पारदर्शिता अपनाएर सम्बन्धित विद्यार्थीहरूलाई सहजरुपमा उपलब्ध गराउनुपर्ने लगायत छन् ।