• १२ मंसिर २०८१, बुधबार

सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण

blog

पोषण उपहार पाएपछि ठेहे स्वस्थ्य चौकीमा सुत्केरी महिलाहरु शिशुसँग ।

राजन रावत

हुम्ला, असार १ गते । गर्भवती महिलाले समय पुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने महिलाहरूलाई पौष्टिक तत्त्वयुक्त खानेकुरा उपहारका रूपमा प्रदान गरिएको छ । घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र सरसफाइका सामाग्री राखी कोसेली उपहार दिइएको हो । 

सिमकोट गाउँपालिका-२ को ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दानबहादुर बोहराले शुक्रबार १७ जना सुत्केरी र नवजात शिशुहरूको पोषणमा सुधार ल्याउने खानेकुरा राखिएको कोसेली उपहार प्रदान गरिएको बताउनुभयो । पोषणयुक्त खानेकुराका साथै सरसफाइका सामानहरू पनि प्रदान गरिएको हो । उहाँले सुत्केरीहरूको पोषणको अवस्था दयनीय भएको कारण त्यसलाई सुधार ल्याउन, सुत्केरी भएकी महिलाहरूले पोषण युक्त खानेकुरा खाना सिक्न, स्वास्थ्य चौकीहरूमा रहेका प्रसूति गृहमा संस्थागत सुत्केरी गराउने सङ्ख्या वृद्धि गर्न कोसेली उपहार दिइएको बताउनुभयो । 

स्वास्थ्य चौकीले यसअघि १० जना सुत्केरीलाई यो पोषण उपहार दिइसकेको छ । जसमा स्थानीय मार्सी चामल, घ्यू, अण्डा, खाने तेल, लुगा धुने र नुहाउने साबुन, तौलिया, मन्जन ब्रस, पेन्टी र नेल कटर रहेका छन् । सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रम नै तर्जुमा गरेर गाउँपालिका अध्यक्ष उपाध्यक्ष ल्याउँदैछन् कोसेली, गर्भवती सुत्केरीको हातहातमा पोषण थैली कार्यक्रम ल्याएको हो । 

यो कार्यक्रम सिमकोट गाउँपालिकाका आठ वटै वडामा लागु भएको र सुत्केरी महिलाहरूलाई यो उपहार वितरण गर्दै आएको छ । हालसम्म सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाकी स्वास्थ्य कर्मी शुक्रबार जिल्ला अस्पतालमा सुत्केरी भएका २२ र चौगानफयामा आठ जनालाई पनि कोसेली वितरण गरिएको बताउनुभयो । हालसम्म गाउँपालिका भरिमा एक सय ५० जना सुत्केरी महिलाहरूलाई सो कोसेली प्रदान गरिएको उहाँले बताउनुभयो ।