• २ माघ २०८१, बुधबार

घर-घरमा खानेपानीका धारा आएपछि स्थानीय खुसी

blog

रमेश विश्वकर्मा 

गुल्मी, असार १ गते । घर-घरमा खानेपानीका धारा पुग्दा गुल्मीको धुर्कोट गाउँपालिका–५, वस्तुका स्थानीयहरू हर्षित भएका छन् । पानी ल्याउनका लागि घण्टौँ हिँड्नु पर्ने हुँदा निकै समस्या भएको तर अहिले घर–घरमा खानेपानीको धारा आउँदा समयको बचत भएको भन्दै यहाँका स्थानीयहरू अत्यन्तै हर्षित भएका हुन् । 

यसरीमा घर–घरमा पानी आएसँगै विद्यार्थीहरूलाई समेत सहज भएको छ । पानीकै लागि घण्टौँ समय खर्चिएका विद्यार्थीले अहिले नियमित पढ्न पाएका छन् । ‘पानी लिन जाँदा समयमा विद्यालय पुग्न सकिएको थिएन, राम्रोसँग पढ्न पनि पाइएको थिएन ।’ हिमालय माविका कक्षा–६ मा पढ्ने छात्रा निशा विकले भन्नुभयो, ‘अहिले पढाइमा धेरै राहत मिलेको छ ।’ घरमै पानी आएसँगै अहिले विद्यालय पोसाक समेत घरमै धुन पाएको उहाँले बताउनुभयो । 

वस्तु हर्रेका ४८ वर्षीय गाजली सुनारलाई पहिले–पहिले एक गाग्रो पानी ल्याउन घण्टौँ लगाएर हिँड्नुपर्ने थियो । पानी ल्याउनकै लागि उहाँ सोरपानी, दारेगौडा लगायतका स्थानमा पुग्ने गर्नुहुन्थ्यो । अहिले घरमै खानेपानीको धारा आएकोले समयसँगै हरेक कुरामा निकै सहज भएको उहाँले बताउनुभयो । गत वैशाख १ गतेदेखि उहाँको घरमा बिहान ६ बजेदेखि ९ बजेसम्म दैनिक तीन घण्टा नियमित पानी आइरहेको छ । त्यस्तै, मखमली सुनारले घरमै पानी आएपछि निकै सहज भएको बताउनुभयो । ‘यसरी घरमै पानी आउँदा समयको निकै बचत भएको छ ।’ उहाँले भन्नुभयो, ‘पहिले जस्तो पानीकै लागि भनेर घण्टौँ समय खर्च हुँदैन ।’

यहाँ वस्तु लिफ्टिङ्ग खानेपानी आयोजना (चिलिखोला, बिसानैना, पात्ला, हर्रे) सम्पन्न भएसँगै एक सय ८ घरमा खानेपानीको धारा पुगेको छ । घरमै खानेपानीको धारा पुगेसँगै स्थानीयको दैनिकी समेत फेरिएको खानेपानी योजनाका उपभोक्ता समिति सह–सचिव चुरामणि घर्तीले बताउनुभयो । सो आयोजना सम्पन्न गर्नको लागि धुर्कोट गाउँपालिकाको आठ लाख, प्रदेश तथा सङ्घबाट ८६ लाख ४९ हजार ६२४ रुपियाँ र उपभोक्ताको सात लाख नौ हजार गरी जम्मा एक करोड एक लाख ५९ हजार ३२४ रुपियाँ खर्च भएको गाउँपालिकाका वास संयोजक छविलाल विश्वकर्माले जानकारी दिनुभयो । 

अहिले वस्तुमा मात्रै पाँच सय ३३ घरमा खानेपानीको धारा पुगेको छ । गाउँपालिकाले आगामी दुई वर्षभित्र सबै घरमा खानेपानीको धारा पुर्‍याउने गरी विभिन्न आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो । अहिलेसम्म पालिका भरिका तीन हजार ६५० घरमा पानीको धारा पुगेको छ । दुईवटा ठुला आयोजना निर्माणाधीन छन् । आगामी दुई वर्षभित्र सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।