• ११ मंसिर २०८१, मङ्गलबार

मालिका गाउँपालिकामा स्थानीय पाठ्यक्रम लागु

blog

स्थानीय पाठ्यक्रममा आधारित पाठयपुस्तक वितरण तथा लेखक सम्मान कार्यक्रम । तस्विर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, जेठ ३२ गते । मालिका गाउँपालिकाले कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागु गरेको छ । पालिकाले बिहीबार एक कार्यक्रमका बीच हाम्रो मालिका नामक (स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक) वितरण तथा लेखक सम्मान कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो ।

गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा स्थानीय भेषभुषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति अनुसारको भाषा भाषीहरू, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सीपसँगै जीविकोपार्जन र  दैनिक जीवनमा प्रयोगमा आइरहने तमसुक, भरपाई लेखन जस्ता विषयवस्तुहरूलाई समेटिएर पाठ्यक्रमको मस्यौदा तयार गरिएको मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले जानकारी दिनुभयो।

वर्तमान समयमा अध्ययन गर्ने विद्यार्थीहरूले स्थानीय रूपमा प्रचलनमा रहेका भेषभुषा, भाषाभाषीहरू र बस्तुहरू समेत चिन्न र जान्न छाडिसकेकाले स्थानीय पाठ्यक्रम निर्माण गरिएको प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिनुभयो ।

पाठ्यक्रम र पाठ्यपुस्तक बीचको तालमेल मिलाई पाठ्यक्रम अनुसारको पाठ्यपुस्तकमा भूगोल, क्षेत्र, पर्यटकीय स्थल र परम्पराहरूलाई सहज र सरल रूपमा अध्ययन गर्नसक्ने गरी निर्माण गरिएको शिक्षा शाखाले जनाएको छ । सोही कार्यक्रममा पाठ्यपुस्तक लेखनमा योगदान गर्नेहरूलाई सम्मान समेत गरिएको थियो ।

धुर्कोट गाउँपालिकाले २०७७ सालदेखि नै कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरेको बताउँदै लुम्बिनी प्रदेशमै आफू स्थानीय पाठ्यक्रम लागु गर्नेमा पहिलो भएको दाबी गर्नुभयो।

हालसम्म आफूले पाँच वटा स्थानीय तहहरूमा स्थानीय पाठ्यक्रम लागु गर्ने बारेमा अनुभव आदान प्रदान गरेको भन्दै स्थानीय पाठ्यक्रमले स्थानीय स्तरका विषयवस्तुलाई नै प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

मालिका गाउँपालिकाभित्र ५३ वटा सामुदायिक  ७ वटा निजी सहित ६० वटा विद्यालयहरू रहेका छन् । जुन विद्यालयहरूमा सात हजार विद्यार्थीहरूले अध्ययन गर्ने गरेको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।