काठमाडौं, जेठ ३२ गते । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरूको अनुगमन सुरु गरेको छ । कर्मचारीहरूले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको भन्दै सतर्कता केन्द्रले बिहीबार सिंहदरबार दक्षिण गेटमा बसेर अनुगमन गरेको हो ।
सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेपछि सतर्कता केन्द्रले कार्यालय समयमा बाहिर जाने कर्मचारीहरूको नाम र आइडी कार्डको विवरण राख्न थालेको हो । छड्के अनुगमन दिनभर नै हुनसक्ने राष्ट्रिय सतर्कता केन्द्रका प्रहरी नायव उपरीक्षक कृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कार्यालय समय १० बजे अफिस आउने त्यसपछि हाजिर गरेर निस्किने कर्मचारीका लागि अनुगमन गरिएको हो । सचिवज्यूले आदेश दिनुभएको हो । १० बजेदेखि १२ बजेसम्म अनुगमन गरेका छौँ ।’’
सिंहदरबार भित्र कार्यालय समयमा कर्मचारी नभेटिने क्रम बढेको गुनासो आएको र बाहिर निस्किने कर्मचारीहरूले कुनै न कुनै बहना बनाउने गरेको उहाँले बताउनुभयो ।