• ५ जेठ २०८१, शनिबार

प्रदेश आर्थिक सर्वेक्षण आज र बजेट शुक्रबार आउँदै

blog

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, जेठ ३२ गते ।
 बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट यही शुक्रबार असार १ गते ल्याइने भएको छ । बागमती प्रदेश सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १ गते शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा (तामाङ) ले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरेको छ ।

समितिका सदस्य छिरिङदोर्जे लामाले असार १ गते बस्ने पहिलो बैठकमा मन्त्री तामाङले आर्थिक वर्ष २०८०/०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने गरी प्रदेश सभा बैठकको सम्भावित कार्यसूची तय भएको जानकारी दिनुभयो ।

त्यस्तै, आज (बिहीबार) दिउँसो २ बजे बस्ने प्रदेश सभाको बैठकमा मन्त्री तामाङले बागमती प्रदेश आर्थिक सर्वेक्षण २०७९/०८० पेस गर्दै हुनुहुन्छ ।

यस्तै, असार १ गतेको प्रदेश सभाको दोस्रो बैठकमा मन्त्री तामाङले आव २०८०/०८१ को बजेट वक्तव्यको प्रति टेबुल गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० लाई पेस गर्ने कार्यसूची बनेको छ ।

साथै, मन्त्री तामाङले सोही बैठकमा बागमती प्रदेश सरकारको आव २०७९/०८० को गत चैत मसान्तसम्मको प्रगति विवरण पेस गर्नुहुने छ । प्रदेश सरकार चालू आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपियाँ विनियोजन गरेको थियो । तर आगामी आवको बजेटको आकार चालु आवको भन्दा घट्ने देखिएको छ ।

प्रदेश सरकारको आफ्नै राजस्वको स्रोतमध्ये मुख्य गरी राजस्व सङ्कलन हुने मालपोत र सवारी करमा ह्रास आउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । प्रदेशको राजस्व सङ्कलनमा कमीसँगै सङ्घबाट प्राप्त हुने अनुदान घट्ने भएसँगै आगामी आवको बजेटको आकारसमेत घट्ने अनुमान गरिएको छ ।

उता बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिना बाँकी हुँदा अर्थात् गत चैत मसान्तसम्ममा प्रदेश सरकारको कुल बजेटको ३० प्रतिशत मात्र खर्च गर्न सक्षम भएको छ ।