अमरराज नहर्की
तनहुँ, जेठ ३२ गते । तनहुँका सबै पालिकामा गाई, भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोग महामारीलाई नियन्त्रण गर्न पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ । पालिकासँग समन्वय गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले खटाएको हो ।
रोगले महामारीको रूप लिन थालेपछि किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम भइरहेको र तीन हजार एक सय पशुलाई लम्पी स्किनविरुद्धको खोप लगाइसकिएको केन्द्रले जनाएको छ । जिल्लाका १० वटा पालिकामध्ये आठ वटा पालिकामा पशुलाई खोप लगाइसकिएको छ । अन्य दुई वटा पालिकामा समेत खोप लगाउने काम तीव्र रूपमा भइरहेको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
समयमै किसानले रोगका बारेमा थाहा नपाउँदा र रोगी तथा निरोगी गाई, भैँसीलाई एकै थलोमा बाँध्न थालेपछि रोग महामारीका रूपमा फैलिएको डा. श्रेष्ठले बताउनुभयो । महामारीले गर्दा छोटो अवधिमै जिल्लाभर ६० गाई, भैँसी मरेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सङ्व्रmात्मक विषाणुजन्य रोग लम्पी स्किनबाट भैँसीको तुलनामा गाईगोरुमा बढी देखिएको छ । यस रोगको सङ्क्रमण हुँदा गाई, भैँसीमा अत्यधिक ज्वरो आउने, पशु झोक्राउने, दानापानी नखाने, दुहुना गाई, भैँसीको दुध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने र पछि गिर्खा फुटी अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, रोगी पशुलाई जीवाणुको सङ्क्रमणले निमोनिया र थुनेलो हुने जस्ता समस्या पैदा भई पशुको मृत्यु हुने गरेको केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।