• १२ असोज २०८१, शनिबार

अवरुद्ध खानेपानी सुचारु

blog

खानेपानीको पाईप विस्तार र अवरुद्ध पानी सुचारु गर्न खाडल खन्दै । तस्विर : यादवराज पुरी

यादवराज पुरी

रौतहट, जेठ ३१ गते । रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।  

पालिकाका वडा नम्बर ६ देउराली चोकदेखी दक्षिण पूर्वको पूर्व टोलमा अवरुद्ध भएको खानेपानी पुनः सुचारु गर्न खाडल खन्न सुरु गरिएको छ । विगत तीन महिनादेखि सो टोल लगायत अन्य स्थानका उपभोक्ता शुद्ध खानेपानी पिउनबाट वञ्चित हुँदै आएका थिए । खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरका अध्यक्ष किशोरप्रसाद उपाध्यायले खानेपानीबाट वञ्चित ती स्थानका बासिन्दाले यथाशीघ्र शुद्ध पानी पिउन पाउने कुरामा विश्वस्त पार्नुभयो । 

पानी अवरुद्ध भएदेखि नै महँगोमा जारको पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय शिक्षक वशिष्ठ सापकोटाले बताउनुभयो । उहाँका अनुसार खानेपानीको सरल पहुँचबाट वञ्चित पूर्व टोलवासी यथाशीघ्र शुद्ध पानी पिउन पाउने भएपछि खुसी छन् । 

चन्द्रपुर नगरपालिकाको सहयोगमा पाइप खरिद भई खानेपानी उपभोक्ता समितिले विस्तार कार्य अघि बढाएको पालिका प्रमुख सञ्जय काफ्लेले बताउनुभयो । उहाँका अनुसार खानेपानी नपुगेको नगरवासीको घरघरमा पानी पुर्‍याउन पालिका प्रतिबद्ध रहेको छ ।