मीना कंडेल
कावासोती, जेठ ३१ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था लागु गर्ने भएको छ । पछिल्लो समय मापसे गरेर सवारी चलाउने क्रम बढेसँगै दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले असार १ गतेदेखि लागू हुने गरी यस्तो व्यवस्था लागु गरेको हो।
सवारी दुर्घटना न्यूनीकरण एवम् सडक अनुशासन कायम गर्दै जनताको सुरक्षित यात्राको अधिकारलाई सुनिश्चित गर्न कुनैपनि सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको
पाइएमा उनीहरूले ट्राफिक जरिवानाका साथै एक घण्टा सचेतना कक्षामा सहभागी हुनुपर्नेछ । यसरी सचेतनामा सहभागी भएको निस्सा पश्चात् मात्र सवारी साधन र सम्बन्धित कागजपत्र प्रदान गरिने नवलपुरका ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले बताउनुभयो ।
सवारी दुर्घटनाका विभिन्न कारणहरूमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण रहेकोले समेत सचेतना कक्षा अनिवार्य गर्नु परेको प्रहरी निरीक्षक पौडेलको भनाइ छ ।
पछिल्लो दुई महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई सय ३३ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ । सचेतना कक्षा प्रत्येक हप्ताको सोमबार र बिहीबार बिहान १० बजेदेखि ११ बजेसम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सञ्चालन हुनेछ ।
सचेतना कक्षा कार्यक्रमले जनधनको क्षति न्यूनीकरण र समग्र सडक सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास ट्राफिक प्रहरीले ट्राफिक कार्यालय नवलपुरका सूचना अधिकृत लेखनाथ पुरीले बताउनुभयो ।