राधाकृष्ण डुम्रे
वालिङ, जेठ ३१ गते । स्याङ्जाको भिरकोटमा भएको आगलागीका पीडितलाई विभिन्न सङ्घसंस्थाले आर्थिक सहयोग गरेका छन् । भिरकोट-१ बयरघारी मा रहेको राजेश पौडेलले सञ्चालन गरेको झरना फोटो स्टुडियोमा आगलागी हुँदा पसलका सामान तथा घरमा रहेका अन्य समान सहित लत्ता कपडा जलेर पूर्ण रूपमा नष्ट भएको हो ।
भिरकोट उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्कलन गरिएको दुई लाख ६२ हजार आठ सय १५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको सङ्घका अध्यक्ष जगदीश प्रसाद कोइरालाले जानकारी दिनुभयो । आर्थिक सङ्कटको कारण समस्यामा रहेका व्यापारीले भैपरी आउने समस्याले झनै पीडा दिने गरेको अध्यक्ष कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो ,“अहिले सबै व्यवसायी समस्यामा छन् तर पनि आगलागीका कारण समस्यामा परेका व्यवसायीलाई सबैले सहयोग गरेका छन् ।”
यस्तै भिरकोट नगर पालिकाले पनि एक लाख सहयोग गरेको नगरप्रमुख गोविन्द कर्माचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार समस्यामा परेका साना व्यवसायीलाई पालिकाले निरन्तर सहयोग गर्दै आइरहेको छ ।
समस्यामा रहेका नागरिकहरूमा आफूहरू सक्रियता पूर्वक सहयोग जुटाउने र हस्तान्तरण गर्ने काम गर्दै आएको भीरकोट जेजीजका अध्यक्ष सुन्दर कोइरालाले बताउनुभयो ।
गएको २६ गते भएको आगलागीमा ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।