• १३ मंसिर २०८१, बिहिबार

जथाभाबी पार्किङ र फुटपाथमा व्यवसाय गरे कारबाही

blog

वालिङ बजारको मुख्य चोकमा जतथाभावी पार्किङ गरिएका अटोरिक्सा तथा अन्य सवारीसाधानहरु ।

राधाकृष्ण डुम्रे

वालिङ, जेठ ३१ गते । वालिङ नगरपालिकाले सडक पेटीमा सामान नराख्न र जथाभाबी पार्किङ गरेको पाइएमा कारबाही हुने भएको छ । पछिल्लो समय बढ्दो बजारीकरण तथा मानिसको जनघनत्वका कारण साँघुरिएको सडक क्षेत्रलाई अव्यवस्थित बनाएको भन्दै वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी यस्तो आग्रह गरेको हो ।

वालिङ नगरपालिकाभित्रको सिद्धार्थ राजमार्ग तथा भित्री सडकहरूको पेटी मिचेर सामान बिक्रीका लागी राखिएको र स्थानीय रुटमा चल्ने अटो रिक्सा, जिपहरूले जथाभाबी पार्किङ गर्दा सडक सुरक्षामा चुनौती देखिएको भन्दै नगरपालिकाले यस्तो आग्रह गरेको नगरप्रमुख कृष्ण खाणले बताउनुभयो । 

बजार क्षेत्रमा छरपस्ट राखिएका बिक्रीका सामाग्री र जथाभाबी गरिने पार्किङले पैदल यात्रीलाई समेत निकै सास्ती भएको छ । साथै नगरपालिकाले इजाजत नलिई र नवीकरण नगरी सञ्चालन गरिएका अटो रिक्साहरू अनिवार्य यही असार १५ गतेसम्म इजाजत तथा नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको पालिकाले जनाएको छ । 

नगरपालिकाले सार्वजनिक सूचना निकालेर सरोकारवालालाई सचेत बनाएको हो । सडक पेटिका बिक्रीका लागी सामानहरू राखेको भेटिएमा सामान जफत गरी कानुन अनुसार कारबाही गरिने नगर पालिकाले चेतावनी दिएको छ ।

पछिल्लो समय नगरभित्रका पसलहरूले बिक्रीका लागि छरपस्ट सामाग्री राख्ने गरिएको तथा निर्माणका सामाग्री समेत अस्तव्यस्त रूपमा राख्ने गरिएको गुनासो आएको पालिकाले जनाएको छ । मुख्य बजारमा नै अटो रिक्साको जथाभाबी पार्किङ र सञ्चालनले दुर्घटनाको जोखिम बढेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।