ठाकुरप्रसाद आचार्य
म्याग्दी, जेठ ३१ गते । बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । कालिगण्डकी कोरिडोर सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका –२ भुरुङ तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार साँझ आएको बाढीले बगाउँदा सडक अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा मुस्ताङ जाने र मुस्ताङबाट फर्किने सवारीसाधानहरु तातोपानीमा रोकिएका छन् । यसअघि जेठ ६ गते रातिको बाढीले भुरुङ तातोपानीमा रहेको ३ मिटर कल्भर्ट पुल भत्काएको थियो ।
पुल भत्काएपछि अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बुधवार बिहानैदेखि सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । खोल्सामा आएको बाढीले कल्भर्टको संरचना पुरै बाढीले बगाएका कारण सडक खुलाउन दुईचार घण्टा लाग्ने उहाँले बताउनुभयो ।