• १२ असार २०८१, बुधबार

पुतली बजारमा अनलाइन कर भुक्तानी सेवा सुरु

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ ३० गते । पुतली बजार नगरपालिकाले कर भुक्तानीका लागि अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीलाई सहज बनाउने उद्देश्यले अनलाइन कर भुक्तानी सेवा प्रारम्भ गरेको नगरप्रमुख तुलसीराम रेग्मीले बताउनुभयो । 

अनलाइन सेवा प्रयोग गर्न जान्ने जो कोहीले पनि स्थानीय कर अब आफ्नै घरमा बसेर भुक्तान गर्न सक्नेछन् । पालिका आएर कर भुक्तान गर्दा लामो सय खर्चनुपर्ने र पालो पर्खनु पर्ने झन्झटबाट मुक्त भएको रेग्मीले बताउनुभयो । 

पुतली बजारले प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सह–लगानीमा नवप्रवर्द्धन साझेदारी कोष कार्यक्रमअन्तर्गत सेवा सुरु गरेको हो । सेवा प्रवाहमा सूचना प्रविधिका नविनतम् उपाय, उपकरण, विधि र माध्यमहरूको प्रयोग गरी छिटो, पारदर्शी, जबाफदेही र जनमुखी सेवा प्रवाह गर्ने मुख्य उद्देश्य भएको रेग्मीले बताउनुभयो । यहाँ नगद रहित राजस्व सङ्कलन गर्न मिल्ने गरी क्युआर भुक्तानी समेतको सुरुवात गरिएको छ । 

नगरपालिका मात्र नभई यहाँका १४ वटै वार्डमा कर अनलाइन तिर्ने व्यवस्था तत्काल बनाउने तयारी नगरपालिकाले गरेको छ ।