• १३ मंसिर २०८१, बिहिबार

पानी पार्न नवलपुरमा इन्द्रको पूजापाठ

blog

कावासोतीमा पानिको लागि सामुहिक पूजा गर्दै स्थानीय ।

मीना कंडेल

कावासोती, जेठ ३० गते । पूर्वी नवलपरासीमा दैनिक जसो इन्द्र पूजा, भ्यागुता पूजा, माई पूजा लगायतका पूजा गर्दै पानी माग्न थालिएको छ । लामो समयसम्म पानी नपरेपछि पानी पार्न भन्दै कावासोती -९ को समावेशी चोक र बगैँचा चोकको बीचमा सामूहिक पूजापाठ गरिएको छ ।

असार लाग्नै लाग्दा पनि पानी नपरेर खेतबारीमा लगाएका तरकारी बाली, अन्नबाली तथा फलफूल सुक्न थालेपछि स्थानीयले पानी पार्न भन्दै इन्द्रसँग प्रथाना गरेका छन् । पं. विष्णु प्रसाद पोख्रेलको नेतृत्वमा कावासोतीका बासिन्दाले स्वस्ति शान्ति, महारुद्री सहित इन्द्र पूजा गरिएको हो । यहाँ विगत ९ महिनादेखि ठुलो पानी पर्न सकेको छैन । नवलपुरमा पानी नपरेका कारण मकैका बोट र धानका बिउँ सुक्न थालेका छन् । 

यस्तै देवचुली नगरपालिकाको वडा नं. १ केउरेनी नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका छन् । मन्दिर पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर स्थानीयले पानी मागेका हुन् । 

भगवान् इन्द्रको पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ पूजा गरिएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले बताउनुभयो । देशको अन्य स्थान भन्दा दुम्कौलीको तापक्रम बढेको कारण स्थानीयले धूमधामका साथ इन्द्रको पूजा गरिएको बताएका छन् । अन्य क्षेत्रको तुलनामा देवचुली नगरपालिकामा ४४ डिग्रीसम्म तापक्रम पुग्दा दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले लगाएको धान, तरकारी बाली सुक्ने अवस्था आएको छ । इन्द्र भगवानलाई खुसी पार्न भजनकृर्तन, होम, ब्राह्मणद्वारा पाठ परायण नै गरेर इन्द्र देवताको पूजा गरेको दिव्य धाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले बताउनुभयो ।