अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ३० गते । जिल्लामा सञ्चालनमा रहेका कपडा सिलाइ बुनाइको व्यवसायमा स्थानीय दक्ष जनशक्ति नहुँदा व्यवसायीहरूले समस्या भोग्नुपरेको गुनासो राख्नुभएको छ ।
म्याग्दी टेलरीङ व्यवसायी सङ्घले आयोजना गरेको छलफल, अन्तरक्रिया तथा भेलामा सहभागी व्यवसायीहरूले जिल्ला भित्रैका व्यक्तिहरू दक्ष हुन नसक्दा समस्या भएको गुनासो राख्नुभएको हो। म्याग्दी टेलरीङ व्यवसायी सङ्घका अध्यक्ष डम्बरबहादुर कार्कीले जिल्लाकै व्यक्तिहरू आवश्यकता अनुरूप सिलाइ बुनाइमा पोख्न नहुँदा बाहिरबाट झिकाउन पर्ने र उनीहरूलाई महँगो तलब दिँदा पनि जिल्लामा टिकाउन नसक्ने अवस्था सृजना हुने गरेको बताउनुभयो ।
व्यवसाय सञ्चालन गरी रहेका व्यक्तिहरूसँग पनि राज्यको निकायले प्रदान गर्ने सिपको प्रमाणपत्र नहुँदा राज्यबाट सुविधा लिन व्यवसायीहरूले नपाएको उहाँको भनाइ छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले आफू व्यावसायिक हुँदै अन्य धेरैलाई रोजगार सृजना गर्ने टेलरीङ व्यवसायीले आफूलाई साना व्यवसायी भन्न नहुने तर्क गर्नुभयो । उहाँले आफू बाँच्ने मात्रै नभएर अरूलाई पनि रोजगार दिने र सिक्ने मौका सृजना गर्ने टेलरीङ व्यवसायी राज्यको महत्त्वपूर्ण पाटो भएको बताउनुभयो । सबै नागरिकलाई चिटिक्क परेर अफिस तथा कार्यक्रमहरूमा जानसक्ने बनाउने टेलरीङ व्यवसायी भएकोले यस्ता व्यवसायीहरूलाई उचित सहयोगका लागि नगरपालिकाले प्रयास गर्ने उहाँको भनाइ छ । दक्षता भएका तर सिटिइभिटिको प्रमाणपत्र प्राप्त नगरेका व्यवसायीलाई परीक्षाको व्यवस्था मिलाएर प्रमाणपत्र प्राप्तिको लागि पर्यटन तथा घरेलु कार्यालय, म्याग्दी उद्योग वाणिज्य सङ्घ र नगरपालिकाले सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले व्यवसायीको हितका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले व्यवसायहीहरुका लागि सिप विकास तालिमका साथै मेसिन मर्मत तालिम आवश्यक हुने भएकाले त्यसको व्यवस्थापनका लागि पहल गरिने बताउनुभयो । व्यवसाय दर्ता तथा अन्य कानुनी प्रक्रियामा अप्ठेरो परेको खण्डमा पनि सहजीकरणको लागि उद्योग वाणिज्य सङ्घमा कुरा राख्न उहाँले आग्रह गर्नुभयो ।
पर्यटन तथा घरेलु कार्यालयका प्रमुख पोसनाथ शर्माले साना तथा घरेलु उद्योग सञ्चालन गर्नका लागि कार्यालयले सधैँ प्रोत्साहन गर्ने बताउनुभयो ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष लीलाराम गौतम, म्याग्दी टेलरीङ व्यवसायी सङ्घका सचिव चन्द्रा घलेले आफ्नो भनाइ राख्नुभयो ।