अमृतप्रसाद पौडेल
म्याग्दी, जेठ ३० गते । मनसुनजन्य विपद्को दृष्टिकोणले अत्यन्तै जोखिम मानिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रे र फगाम क्षेत्रको प्राविधिकद्वारा स्थलगत निरीक्षण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–३ का अध्यक्ष रमेश पुर्जाका अनुसार मनसुनजन्य विपद्को दृष्टिले सङ्कटापन्न अवस्थामा रहेका दानाका बस्तीहरू रुप्से, फगाम र काभ्रेमा स्थलगत अनुगमन गरिएको हो ।
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक डा. कृष्णप्रसाद भण्डारी, इन्जिनियर विकास शेरचन, भूगर्भविद् नवराज न्यौपाने, इन्जिनियर सुजन सुवेदी, हेमन्त कुमार महतार तथा अन्नपूर्ण गाउँपालिकाका इन्जिनियर ईश्वर भण्डारी सहितको टोलीले अनुगमन गरेको हो । दानाको काभ्रे क्षेत्र माटोको मात्रा बढी भएको क्षेत्र भएकाले ठुलो पानी परेको खण्डमा पहिरोको जोखिम बढी हुने निरीक्षण टोलीले बताएको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो । ठुला संरचानाहरु निर्माण नगर्ने र पानीको श्रोतलाई पनि निश्चित एकै क्षेत्रमा भन्दा फरक फरक तिरबाट धार परिवर्तन गरेर बगाएमा राम्रो हुने प्राविधिकले सल्लाह दिएको उहाँको भनाइ छ ।
विपद् पूव तयारीका लागि तत्काल गर्नुपर्ने सुझाव प्राप्त भएको र अन्य विस्तृत कुराहरू प्रतिवेदन प्राप्त भएपछि जानकारी हुने इन्जिनियर भण्डारीले बताउनुभयो । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस र गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय बिचमा प्रदेश भित्रका जोखिमयुक्त क्षेत्र पहिचानका लागि भएको सम्झौता अनुरूप उक्त टोली अन्नपूर्णमा आएको उहाँले बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीका अनुसार टोलीले जोखिम युक्त बस्ती निरीक्षण गरेर सम्बन्धित कार्यालयमा रिपोर्ट दिने र त्यसको कपी आफूहरूले पनि मागेर त्यस अनुसार अगाडी बढ्ने बताउनुभयो । यस पटकका लागि पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको टोलीलाई स्थलगत अनुगमनमा पुर्याएर सहयोग गर्ने कार्य इन्जिनियर भण्डारीले गर्नुभएको र काभ्रे, रुप्से तथा फगाम क्षेत्रमा ड्रोनको समेत प्रयोग गरेर अध्ययन गरिएको उहाँले बताउनुभयो ।