• ६ जेठ २०८१, आइतबार

यसपटक धानबालीका लागि रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

blog

काठमाडाैं, जेठ ३० गते । नेपालमा मनसुन सुरु भएसँगै धानबाली लगाउने चटारो सुरु हुन्छ । मानो रोपेर मुरी फलाउने सिजनको रूपमा रहेको धानखेतीका लागि कृषकहरू अधिकांश आकासे पानीकै भरमा छन् । अन्नभण्डारका रूपमा परिचित तराई क्षेत्रका कृषकहरू धानबाली लगाउनका लागि मनसुन कुरेर बसेका छन् ।

उच्च हिमाली जिल्ला हुम्ला, जुम्लालगायत केही जिल्लामा रोपाई सम्पन्न भए पनि बाँकी क्षेत्रमा भने रोपाई हुन सकेको छैन । पहाडी भेगका मानिस पनि पानी पर्ला र धान रोपौँला भनेर कुरिरहेका छन् । सधैँ रासायनिक मलको अभाव झेलिरहेका किसानलाई यसपटक पनि धान लगाउने समयमा रासायनिक मलको अभाव हुने चिन्ताले सताउँछ ।

यता कृषि मन्त्रालयले धानबालीका लागि मलको अभाव नहुने जनाएको छ । हाल मन्त्रालयसँग ७३ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको र मल केही मल खरिदको प्रक्रियामा रहेकाले यसपटकको धानखेतीमा किसानले मलको अभाव झेल्नु नपर्ने मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले बताउनुभयो । उहाँले भन्नुभयो, ''यसपालि ७३ हजार मेट्रिकटन मल मौज्दात रहेको र एक लाख मेट्रिकटन मल असार भित्र नै खरिद हुने भएकाले किसानले मलको अभाव झेल्नु पर्दैन ।''

धानबालीका लागि सरदर डेढ लाख मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने विगतका तथ्याङ्कले देखाएकाले सो मात्रामा मल आयात हुने उहाँको भनाइ छ । सञ्जेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा गत जेठ २५ गतेसम्म तीन लाख तीन हजार मेट्रिकटन मल आयात भएको र गत आ.व.को बाँकी मौज्दातसहित दुई लाख ६० हजार मेट्रिकटन मल बिक्री भइसकेको छ । यस्तै कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने २० हजार मेट्रिकटन डिएपी मल भारतको विशाखपट्नम बन्दरगाहबाट आउँदै गरेको र सो मध्ये केही मल वीरगञ्ज आइसकेको उहाँले बताउनुभयो ।

साल्टट्रेडिङ् कर्पोरेसनले आयात गर्ने २७ हजार मेक्ट्रिकटन युरिया मल कोलकत्ताबाट नेपाल आउँदै गरेको र सो मध्ये केही मल नेपाल भित्रिसकेको छ । २५ हजार डिएपी मल सोमबारसम्म कोलकत्ता आइपुग्ने कम्पनीले जानकारी गराएको उहाँले बताउनुभयो । यस्तै, कृषि सामग्री कम्पनी लिमिटेडले आयात गर्ने पाँच हजार मेट्रिकटन पोटास र साल्टट्रेडिङ् कर्पोरेसनले आयात गर्ने दुई हजार पाँच सय मेक्ट्रिकटन पोटास भारतको विशाखपटनम् आइसकेको र भारत सरकार डिपार्टमेन्ट अफ फर्टिलाइजर ले पुनः निर्यात अनुमति दिए पश्चात् नेपालका लागि आउने उहाँ बताउनुहुन्छ ।

साल्टट्रेडिङ् कर्पोरेसन लिमिटेडले आयात गर्ने २० हजार मेट्रिकटन डीएपी मलका लागि जहाज चीनको बन्दरगाहमा लोड गर्ने क्रममा रहेको र सो मल ज्येष्ठ ३२ गतेसम्म कोलकत्ता आइपुग्ने छ । कोलकत्ताबाट रासायनिक मल नेपाल आउनका लागि २० देखि २५ दिन लाग्ने सञ्जेल बताउनुहुन्छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।