भैरहवा समाचारदाता
भैरहवा, जेठ ३० गते । रुपन्देहीमा लागुऔषध सेवनकर्ता चालकको सडकमै परीक्षण गर्न थालिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले लागुऔषधको प्रयोग र ओसारपसार नियन्त्रणका लागि चालकहरूलाई सडकमै परीक्षण सुरु गरेको हो। चालकले नै लागुऔषध सेवन गरेको भन्ने जनगुनासो बढेपछि चालकको जाँच तथा परीक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक साकारराज पन्तले बताउनुभयो।
सीमावर्ती क्षेत्रमा खुला रूपमा पाइने लागुऔषधको सेवन गरी सवारी चलाउँदा ज्यान जोखिममा हुने गरेको भन्दै सडक सुरक्षा अभियान अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलहिया र लागुऔषध नियन्त्रण ब्युरोको सहकार्यमा चालकहरूले लागुऔषध सेवन गरे/नगरेको परीक्षण गर्न थालिएको हो।
पश्चिमाञ्चल ट्रक यातायात व्यवसायी समितिको सहयोगमा प्राप्त भएको रेपिड मल्टी ड्रग टेस्टडिपकार्ड (किट) मार्फत चालकले विभिन्न छ प्रकारका लागुऔषध सेवन गरे/नगरेको परीक्षण भएको जिल्ला ट्राफिक प्रमुख पन्तले बताउनुभयो। उहाँले भन्नुभयो, “केही शङ्कास्पद देखिएपछि किटमार्फत परीक्षण गरिएको छ।” परीक्षण गरिएका ११ मध्ये तीन जनाले लागुऔषध सेवन गरेको पाइएको उहाँले बताउनुभयो।
गाँजा, कोकिन, ब्राउन सुगर, डाइजेपाम, एम्फेटामाइन र बार्विटुरेट्स समूहको लागुऔषध प्रयोग गरिएको छ भने किटमार्फत ‘अन द स्पट’ जाँच गर्न सकिने छ। किट केही खर्चिलो भएकाले यो अभियानलाई निरन्तर गर्न नसके पनि बेला बेलामा भएको सीमित किट मार्फत छड्के परीक्षण गर्ने गरेको ट्राफिक कार्यालयले जानकारी दिएको छ। मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने चालकलाई लामो समयदेखि ट्राफिक प्रहरीले कारबाही गर्दै आए पनि पछिल्लो समय लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चालक भेटिन थालेपछि लागुऔषध जाँच अभियानलाई कार्यालयले तीव्रता दिएको छ ।
अचेल कारबाहीमा पर्ने डरले सीमा क्षेत्रबाट चल्ने सवारीसाधनका चालकहरू सचेत हुँदै गए पनि पूर्ण रूपमा रोक्न भने नसकिएको प्रहरीले जनाएको छ।