सन्तोष सुवेदी
कास्की, जेठ ३० गते । सुन्दर नगरी पोखरामा अहिले ठाउँठाउँमा फोहोरको थुप्रो भेटिन थालेको छ। पोखरा महानगरपालिका सडकमा शुक्रबारदेखि फोहोर उठेको छैन। महानगरले ल्यान्डफिल साइटमा फोहोर पुर्नका लागि भाडामा लिएको एक्साभेटरलाई इन्धन भर्न पैसा उपलब्ध नभएपछि फोहोर सडकमै रहेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले बताउनुभयो।
“केही दिन भयो फोहोर उठेको छैन। एक्साभेटरका लागि फ्युल उपलब्ध हुन नसकेर रोकिएको हो। फ्युल उपलब्धको प्रोसेसमा छ। एक/दुई दिनमा सबै काम सकिने छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार तीन महिनायता एक्साभेटरको फ्युलका लागि पैसा उपलब्ध भएको छैन। हाल पोखरा महानगरपालिका–३२, लामेआहालस्थित सेती नदी किनारा अस्थायी रूपमा ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुँदै आएको छ।
पुसको दोस्रो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल सुरु हुने भएसँगै ल्यान्डफिल साइटलाई अस्थायी रूपमा लामेआहालमा लगिएको हो। लामेआहालका स्थानीय बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको छ।
महानगरले एक्साभेटरको मासिक चार लाख रुपियाँ भाडा तिर्ने गरेको बरालले बताउनुभयो। एक्साभेटरलाई घण्टाका आधारमा इन्धन दिने सम्झौता गरिएको छ। तीन महिनाको इन्धनबापतको रकम १० लाख रुपियाँ महानगरले बुझाउनुपर्ने देखिन्छ। पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय नै ल्यान्डफिल साइट बनेको छ। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले पैसा तिरेर हेर्नलायक ल्यान्डफिल साइट बनाउने घोषणा गरे पनि यो विषय उहाँकै लागि टाउको दुखाइ बनेको छ । सरसफाइ शाखा प्रमुख बरालका अनुसार पोखरामा दैनिक एक सय टन फोहोर व्यवस्थापन हुँदै आएको छ । उहाँले उठ्न बाँकी रहेको फोहोर दिनमा दुई/तीन खेप गरेपछि उठिसक्ने बताउनुभयो ।
स्थायी ल्यान्डफिल साइट बनाउन गत पुस २५ गते बसेको महानगरपालिकाको कार्यपालिका बैठकले व्यक्तिको जग्गा किन्ने निर्णय गरेको थियो। पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत बैङ्क खातामा जग्गा किन्न पेस्की स्वरूप ५५ लाख रकमसमेत पठाएको थियो तर जग्गा खरिद प्रव्रिmया अगाडि नबढेपछि पैसा फिर्ता आएको छ।