• १३ मंसिर २०८१, बिहिबार

श्रीमान् छुटेपछि कविताको मुहारमा खुसी

blog

अर्जुन काफ्ले 

स्याङ्जा, जेठ ३० गते ।  करिब दुई वर्ष आँखा आँसुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा खुसी छाएको छ। आफ्नै बलात्कारको अभियोगमा श्रीमान् विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलाले १२ वर्ष जेल परेपछि कविताका दिन दुःखमा बित्न थालेका थिए। कविता न्याय खोज्दै उच्च अदालतमा पुगेपछि भएको फैसलाले उहाँको मुहारमा खुसी ल्याएको हो। 

पुतलीबजार नगरपालिका–१३, बडरेकी १६ वर्षीय कविताले अर्जुनचौपारी–१, कौडीखोलाका १९ वर्षीय विपिन सुनार (पोतबहादुर) सँग २०७६ असोज ९ गते प्रेमविवाह गर्नुभएको थियो। बिहे गरेको आठ दिनमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कविताको परिवारको उजुरीमा खोजेर दुवैलाई आआफ्नो परिवारको जिम्मा दिएको थियो। 

परिवारको जिम्मा लगाएको एक दिनमै असोज १८ गते विपिनलाई माइती परिवारको दबाबमा कविताले आफ्नै बलात्कारको उजुरी जिल्ला अदालतमा दिनुभएको थियो।

कविताको उजुरीपश्चात् फेरि दुवै जना भागेका थिए। दोस्रो पटक दुवै भागेपछि कविताको पेटमा गर्भ बसेको थियो। पेटमा गर्भ लिएर कविता घरमा आएर बस्दा प्रहरीले विपिनलाई खोजिरहेको थियो। डेढ वर्षजति लुकेका विपिन आफैँ जिल्ला प्रहरी कार्यालय जानुभएको थियो। विपिन जेल बसेको चार महिनापछि २०७८ मङ्सिर १० गते एक हजार आठ सय रुपियाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने र १२ वर्ष जेल सजायको फैसला जिल्ला अदालत स्याङ्जाका न्यायाधीश वसन्तराज पौडेलले गर्नुभएको थियो । 

जिल्ला अदालतको फैसलापश्चात् २०७८ चैत २ गते माइतीको दबाबमा आफूलाई बलात्कार गरेको आरोप लगाएको स्वीकार गर्दै कविताले श्रीमान् निर्दोष रहेको र न्याय पाऊँ भन्दै उच्च अदालत पोखरा पुनरावेदन दिनुभएको थियो। 

कविताकै पुनरावेदनमा जिल्ला अदालतको फैसलाको दुई वर्षमा २०८० वैशाख १० गते न्यायाधीश रमेशराज भण्डारी र डिल्लीराज आचार्यको इजलासले जिल्लाको निर्णय उल्टाउँदै जेल बस्नु नपर्ने फैसला गरेको हो। उच्च अदालतको फैसलासँगै विपिन र कविताबिच पति र पत्नी नाता कायम भएको हो। सँगै बाँच्ने र मर्ने वाचासहित अन्तरजातीय विवाह गरेका दुवैको सपना विवाह गरेको साढे तीन वर्षपछि उच्च अदालतले सार्थक बनाइदिएको कविताले बताउनुभयो। 

आफू क्षेत्री र विपिन विक हुँदा नै चारैतिरबाट उमेर कम भएको नाममा षड्यन्त्रपूर्वक फसाउने काम गरेको आरोप लगाउँदै कविताले विपिनले नगरेको गल्तीको सजाय भोग्न जेलमा रहँदा छोरी र आफूले निकै कष्ट भोग्नु परेको दुःखेसो गर्नुभयो। 

उच्च अदालतको फैसलापश्चात् आफू, श्रीमान् र छोरीसहितको परिवार खुसीका साथ बाँच्ने आधार खडा भएको र खुसी रहेको कविताले बताउनुभयो।