• ३ जेठ २०८२, शनिबार

बाँध फुटाएर अलपत्र छाड्दा जोखिम

blog

सर्लाही समाचारदाता

सर्लाही, जेठ ३० गते । लालबन्दी नगरपालिका–११, बाहुनी र १३ को पत्थरकोट जोड्ने गरी बाहुनी खोलामा झोलुङ्गे पुल निर्माणको काम अलपत्र छाडिँदा बाहुनी गाउँ जोखिममा परेको छ । पुल निर्माणका लागि बाहुनी गाउँतर्फ खोलामा बाँधिएको बाँध भत्काएर ठुलो खाल्डो खनिएको लामो समय भइसक्दासमेत अलपत्र छाडिएकाले वर्षायाममा बाढी आएर गाउँतर्फ पस्ने जोखिम बढेको हो । 

खोला छेउमै बस्ती रहेको र पुल निर्माणका लागि भन्दै बाँध नै काटेर ठुलो खाल्डो पारिएकाले त्रासमा बस्नु परेको स्थानीय अष्टबहादुर लामाले गुनासो गर्नुभयो । 

भत्काएको बाँधमा तत्कालै नयाँ बाँध बनाउन नसके बाढीको भँगालो गाउँतर्फ सोझिने डर रहेको उहाँले बताउनुभयो । लामाका अनुसार बाँधको थोरै भाग मात्रै बाँकी रहेकाले सानो बाढी आउँदा नै गाउँतर्फ पस्ने जोखिम छ । पुल निर्माण कार्यको गएको फागुन अन्तिम साता पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी–११ का वडाध्यक्ष दीपककुमार लामा, लालबन्दी–१३ का वडाध्यक्ष शिवकृष्ण वैद्यलगायत भएर शिलान्यास गर्नुभएको थियो । वर्षायाम सुरु हुनै लाग्दासमेत भत्काएको बाँध कस्ने सुरसार नहुँदा आफूहरू त्रासमा बस्नु परेको स्थानीयवासीले गुनासो गरेका छन् । 

लालबन्दी नगरपालिका–११ का वडाध्यक्ष लामाले यो वर्ष बजेट कटौती भएकाले पुल निर्माण अधुरै रहने जानकारी दिनुभयो । उहाँले यो वर्ष करिब २५ लाख रुपियाँमा फाउन्डेसनको काम पूरा गरिएको र अर्को वर्ष बजेटको व्यवस्था मिलाई बाँकी काम गरिने बताउनुभयो । 

पुलको बाँकी काम चाँडो नहुने भएपछि नगरपालिकाबाट तत्कालै बाँध खोलिएको र फाउन्डेसन गरिएको ठाउँमा अर्को बाँध कस्ने तयारी गरिएको वडाध्यक्ष लामाको भनाइ छ । बाहुनी खोलामा पुल निर्माण भएपश्चात् पत्थरकोट र बाहुनीका बासिन्दालाई वर्षायाममा बाढी आएका बेला खोला वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ तर सुरुमै निर्माणको काम अत्यन्त सुस्त हुँदा स्थानीयवासीले नैराश्य व्यक्त गरेका छन् ।