• २२ असार २०८१, शनिबार

टिभिएसको स्कुटरमा नेपाली टायर

blog

काठमाडौँ, जेठ ३० गते । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा नेपाली टायर प्रयोग हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको हो । प्राविधिक रूपमा नेपाली सडक सुहाउँदो तरिकाले डिजाइन गरिएको सो टायर सुक्खा र चिसो सडकका साथै अफरोडमा समेत सहज तरिकाले प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । १००–८०–१२ ड्यास र ११०–८०–१२ ड्यास साइजको सो टायर गुणस्तरीय र किफायती भएको कम्पनीको दाबी छ । रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धन खपतमा कमी ल्याउन पनि सहयोग गर्ने तथा अहिले बिक्रीपछिको सेवाका लागि आवश्यक टायरका रूपमा यो टायर प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा टिभिएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रित गरेको कम्पनीले जनाएको छ । ग्रिन टायरले योभन्दा पहिले ट्याक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथि टायरसमेत उत्पादन गरिसकेको कम्पनीले जनाएको छ । करिब पाँच वर्षपहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्री ह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायर उत्पादन गर्दछ ।