• १२ साउन २०८१, शनिबार

खडेरीले बारीमै सुके मकै, धानको ब्याडमा धाँजा फाट्यो

blog

घोराही उपमहानगरपालिका–१२, हापुर तुलसीगन्जमा लामो खडेरीका कारण सुक्न थालेका मकै । तस्बिर : लीलाधर वली / पाल्पाको रामपुरमा खडेरीले धाँजा फाटेको धानको ब्याड । तस्बिर : रेखीराम राना

लीलाधर वली/रेखीराम राना 

घोराही/पाल्पा, जेठ ३० गते । लामो समयसम्म खडेरी हुँदा किसानले लगाएको मकै बाली सुक्न थालेको छ भने खेतमा राखिएको ब्याडमा धाँजा फाटेको छ । मकैको झार गोड्नुपर्ने समयमा मकैका बोट खडेरीका कारण सुक्न थालेपछि किसान चिन्तित भएका छन् । दाङको घोराहीमा करिब तीन साताअघि लगाइएका मकै तरकारीका बेर्ना पानी नपर्दा बारीमै सुक्न थालेका छन् । 

खडेरीसँगै तापक्रम बढेपछि गोड्ने समय भएका मकैका बोट सुक्न थालेका छन् । बारीमा रोपिएका मकैका बोट सुक्ने र ओइलिने गर्दा आफूहरू चिन्तामा परेको घोराही उपमहानगरपालिका–१२, हापुर तुलसीगन्ज निवासी किसान बुद्धिराम शर्मा बताउनुहुन्छ । किसान शर्माले भन्नुभयो, “रोपेको समय अनुसार आजभोलि मकै गोड्नुपर्ने हो तर खडेरीका कारण मकैका बोट सुक्न थालेका छन् । जसले गर्दा गोड्न सकेका छैनौँ ।” उहाँ करिब १० कट्ठा जमिनमा मकै रोपेको बताउनुहुन्छ । 

खडेरीका कारण मकैका बोट ओइलाउन र सुक्न थालेपछि मेहनत खेर जाने हो कि भन्ने चिन्ता थपेको घोराही उपमहानगरपालिका–१२ निवासी किसान रीता भट्टराई बताउनुहुन्छ । धानभन्दा मकै बाली राम्रो उत्पादन हुने भए पनि लामो खडेरीका कारण यस वर्ष मकै के हुने हो भन्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ । भट्टराईले भन्नुभयो, “पानी पर्दैन, रोपेको मकै सुकेर मर्न थालिसके ।” उहाँ खेतबारीमा सिँचाइको व्यवस्था भए पनि पानी नपर्दा कुलोमा समेत पानी अझै आउन नसकेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सिँचाइका लागि पक्की कुलो छ तर पानी नपर्दा कुलामा पानी नै आएको छैन । गर्मीले मकै हुन दिँदैन जस्तो छ । गर्मीले मकै सुक्न थालिसके, पानी पर्ने छाँटकाँट नै छैन ।”

किसानले लगाएको मकै खेती मात्र नभएर सबै बर्खेबाली यति बेला सुक्ने र मर्ने अवस्थामा पुगेको घोराही उपमहानगरपालिका–५ निवासी अर्का किसान शेरबहादुर वली बताउनुहुन्छ । पानी परेको भए मकै राम्रो हुने र धान खेतीका लागि ब्याड राख्नुपर्ने समय भए पनि पानी नहुँदा ब्याड नै राख्न नपाएको उहाँ बताउनुहुन्छ । किसान वलीले भन्नुभयो, “खडेरीले मकैका बोट सुक्ने र ओइलाउने मात्रै होइन, धान खेतीका लागि ब्याडसमेत राख्न पाइएको छैन ।” यसरी दुःख गरेर गरेको मकै बाली बारीमै सुक्न थालेपछि किसान चिन्तामा परेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लामो समयसम्म पानी नपर्दा दिनभर मकैका पात ओइलाएर लथ्रक्कै हुने गर्छन् र राति हुने चिसोले केही बोट भने हरियो देखिने गरेका छन् । अबको केही दिनभित्र पानी नपर्ने हो भने बोट बारीमै सुकेर सकिने छन् ।” 

मकै बाली मात्रै होइन, लामो खडेरीका कारण किसानले लगाएका तरकारी बाली बोडी, घुइँया, काँक्रा, लौका, करेलालगायतका पनि सुकेका छन् । जेठको अन्तिमसम्म पनि धानको ब्याड जमाउन नपाएपछि किसान चिन्तित भएका छन् । यो समस्या उनीहरूको मात्रै नभएर सिँचाइ सुविधा नभएका जिल्लाभरका किसानको समस्या रहेको छ । दाङका अधिकांश ठाउँका किसानले लगाएका मकै बारीमै सुक्न थालेका छन् । धेरै जसो ठाउँमा धानको ब्याड अहिलेसम्म पनि किसानले राख्न सकेका छैनन् । अढाई सातादेखिको चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष असर किसानलाई परेको छ ।

तानसेन समाचारदाताका अनुसार अत्यधिक गर्मी र खडेरीले पहाडी जिल्ला पाल्पाको कृषि क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । जिल्लाको अधिकांश स्थानमा तापव्रmम बढ्दै गएपछि पाल्पाका किसानले लगाएका मकै, धानका ब्याड तथा अन्य तरकारी बाली सुक्न थालेका छन् । 

पहाडी जिल्ला भए पनि पाल्पामा यो वर्ष अत्यधिक गर्मी बढेको स्थानीय बासिन्दाको भनाइ छ । विगतका वर्षहरूको तुलनामा यो वर्ष पाल्पाको अग्ला स्थानमा समेत अत्यधिक गर्मी महसुस भएको रैनादेवी छहरा–४ का स्थानीय बासिन्दा श्रीकृष्ण आत्रेयले बताउनुभयो । जिल्लाकै अग्लो पहाडमा रहेको छहरामा विगतको तुलनामा गर्मी बढेको आत्रेयले बताउनुभयो । खडेरीका कारण किसानले लगाएका मकैका बोट सुकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “खडेरीले बारीमा हुर्किएका मकैका बोट सुक्दै गएका छन्, अझै केही दिन पानी नपरे मकैका सबै बोट सखाप हुन्छन् ।” पछिल्लो एक महिनायता बढेको खडेरीले अन्य बोटबिरुवा तथा तरकारी बालीसमेत सुक्दै गएको उहाँले बताउनुभयो । 

खडेरीका कारण उच्च पहाडी क्षेत्र तथा तल्ला फाँटहरू माडी फाँट, रामपुर फाँट, खोँच तथा कालीगण्डकी किनारका बासिन्दासमेत प्रभावित बनेका छन् । पानीको मुहान सुकेपछि माथिल्लो बस्ती र तल्ला बस्तीमा खानेपानीको अभाव भएको पाल्पाका स्थानीय बासिन्दाको भनाइ छ । खडेरीले पाल्पाको रामपुर, माडी, अर्गली, गेझा, झडेवा, कचल, पूर्वखोला फाँटमा किसानले लगाएका धानका ब्याड सुक्न थालेका छन् । विगतका वर्षमा जेठको अन्तिम सातादेखि धान रोपाइँ गर्ने किसानले यो वर्ष अहिलेसम्म धान रोप्न सकेका छैनन् । ढिला गरी बनाएको धानको ब्याड सुकेका माडी फाँटका किसान दीपक ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयको खडेरी र अत्यधिक गर्मीका कारण धानको ब्याड सुकेर बिउ राम्रोसँग हुर्किन पाएको छैन ।” ब्याडले राम्रोसँग पानी नपाउँदा हुर्काउन समस्या भएको ढुङ्गानाले बताउनुभयो । 

यो वर्ष गर्मी र खडेरीका कारण धान उत्पादनमा असर गर्ने कृषि प्राविधिकले अनुमान गरेका छन् । खडेरीले धानको ब्याडदेखि धान रोप्ने काममा समेत अवरोध सिर्जना गरेकाले उत्पादनमा असर पु¥याउने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिलन गैरेले बताउनुभयो । गत वर्ष यही समयमा कम्तीमा पाँच÷सात प्रतिशत धान रोपाइँ भइसकेको थियो तर यो वर्ष पाल्पामा धान रोपाइँ सुरु नै नभएको गैरेले बताउनुभयो । 

वैशाखको अन्तिम सातातिर लगाएका धानका ब्याड अहिलेसम्म पनि रोप्न नपाएको माथागढी–३ का किसान रिमिका रानाले बताउनुभयो । उहाँले भन्नुभयो, “२५ देखि २८ दिनभित्र रोप्नुपर्ने धानको ब्याड रोप्न पाइएको छैन, बिउ छिपिइसकेको छ ।” 

पाल्पामा गत वर्षको तुलनामा चार डिग्री सेल्सियस बढी तापक्रम मापन गरिएको छ । यो वर्ष ३६.२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको जल तथा मौसम विभागकी पाल्पा प्रतिनिधि सरिता अधिकारीले जानकारी दिनुभयो ।