• ८ जेठ २०८१, मङ्गलबार

सर्पले डसेर बालकको मृत्यु

blog

जनार्जन खत्री

सर्लाही, जेठ २९ गते । सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो । 

आइतबार राति सानिआमा कल्पना वि.क.सँग सुतेका सलिन राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका –१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।  उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिनुभयो । बालकको बाटोमा नै मृत्यु भइसकेकाले केन्द्रमा ल्याएर उपचार सुरु गर्नै नपाएको उहाँले बताउनुभयो । 

बुवा वैदेशिक रोजगारीमा रहेको र आमा पनि झापा गएका बेला राति नजिकै रहेको सानिआमाको घरमा गएर सुतेका बेला बालकलाई सर्पले डसेको स्थानीयले बताएका छन् । मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ । 

गर्मी अत्यधिक बढ्दा उपचार केन्द्रमा अहिले सर्पदंशका बिरामीको चाप बढिरहेको छ । केन्द्रमा दैनिक चार–पाँच जनासम्म सर्पदंशका बिरामी उपचारका लागि आइरहेका इन्चार्ज यादवले बताउनुभयो । गर्मीयाममा विषालु सर्पको बिगबिगी हुने भएकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।