काठमाडौं, जेठ २८ गते। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बरकाे ६ मा अवस्थित कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध तीन लाख १२ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले आइतबार विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०६७/६८ मा उक्त विद्यालयको शौचालय निर्माणका लागि लिएको रकम हिनामिना गरेको आरोपमा पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको जानकारी दिनुभएको हो। पौडेलले जिल्ला शिक्षा कार्यालय कास्कीबाट दुई लाख रुपियाँ रकम निकासा गरेको तर शौचालय निर्माणको पहल नगरेको विज्ञप्तिमा उल्लेख छ। आयोगले विशेष अदालत काठमाडौंमा उहाँ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
रकम निकासा भए पनि शौचालय निर्माणको कुनै पहल नगरेको र विद्यालयको अक्षय कोषमा रहेको एक लाख १२ हजार रुपियाँसहित तीन लाख १२ हजार रुपियाँ बिगो रकम असुर उपरको माग दाबी गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।