• १२ साउन २०८१, शनिबार

राजनीतिलाई सफा नगरी देश परिवर्तन हुँदैन : गृहमन्त्री श्रेष्ठ

blog

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २८ गते । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा नगरी देश परिवर्तन गर्न नसकिने बताउनुभएको छ । आइतबार काठमाडौंमा भएको एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर आन्दोलन गरी लोकतन्त्र स्थापित गरे पनि नागरिकले चाहेको आवश्यकता पूर्ति गर्न नसकिएको उहाँको भनाइ छ । उहाँले राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने जिम्मा लिएका नेतृत्वको कमजोरीका कारण यस्तो समस्या भोग्नुपरेको बताउनुभयो । 

राजनीतिबाट भागेर लोकतन्त्रको रक्षा गर्न र उपलब्धि बचाउन नसकिने भन्दै राजनीतिमै रहेर देश परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘लोकतन्त्र नभएका कारण देश पछि रह्यो भनेर हामीले लडेर लोकतन्त्र ल्यायौँ । यति धेरै लोकतन्त्रका निम्ति सङ्घर्ष भएको देश पनि कमै छन् ।’

मुलुकमा लोकतन्त्र आए पनि जनतालाई दिनुपर्ने सेवा चाहेजति दिन नसकिएको उहाँले स्वीकार गर्नुभयो । यो राजनीतिक व्यवस्था र परिवर्तनको नेतृत्वको कार्यान्वयन गर्ने नेतृत्वको कमजोरी भएको उहाँले बताउनुभयो । 

“राजनीतिलाई सफा नगरीकन यो देशमा परिवर्तन गर्न सकिँदैन । त्यो जिम्मा हामीमा छ, साथै सबै नागरिकमा छ” गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “राजनीतिबाट भागेर होइन, राजनीतिमै रहेर हामीले बनाउने कि बर्बाद गर्ने यसमै निहित छ ।”

मन्त्री श्रेष्ठले १२ कक्षा पास गरिसकेपछि विदेश जानेक्रम नेपालका लागि संस्कृतिजस्तो बन्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो । विकास र विज्ञानलाई मिसाएर नेपालको संस्कृतिको रक्षा गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ ।