• १२ मंसिर २०८१, बुधबार

खार्पुमा पक्की पुल निर्माण कार्य सुरु

blog

तातोपानीको व्यवस्था गरी निर्माण कार्य सुरु भएको खार्पुको पक्की पुल । तस्बिर : राजन रावत, हुम्ला

राजन रावत

हुम्ला, जेठ २८ गते । कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुल निर्माण गर्ने क्रममा निस्केको तातोपानीको व्यवस्था गरी पुल निर्माण कार्य सुरु भएको छ । पुलको पिलरका जग खन्ने क्रममा निस्केको तातोपानीलाई मेसिन जडान गरी तातोपानीलाई पाइपबाट नदीमा फाल्ने कार्य भएपछि पुल निर्माण कार्य अगाडी बढेको हो । 

पुल निर्माण कम्पनी स्वच्छन्द माउण्ट मेमेरी जेभीका स्थानीय प्रतिनिधि सुनाम लामाले पुलको पिलर निर्माण गर्ने स्थानमा निस्केको तातोपानीलाई व्यवस्था गरेर पक्की पुल निर्माणको कार्य अगाडी बढेको बताउनुभयो । उहाँले चार पाँच स्थानमा निस्केको तातोपानीलाई मेसिन जडान गरी पाइपबाट तानेर नदीमा फाल्ने कार्य सफल भएपछि पुलको लागि पिलरको निर्माण कार्य अगाडी बढेको बताउनुभयो । 

तातोपानी निस्केपछि एक महिनासम्म पुल निर्माणको कार्य रोकिएको थियो । निर्माण कम्पनीले पहिले पानी तान्नका लागि प्रयोग गरिएका दुई वटा मेसिन जलेपछि पुन अर्को मेसिन निर्माण कम्पनीले बाहिरबाट खरिद गरेर ल्याई जडान गरेर तातोपानी व्यवस्था गर्न सफल भएको हो । हिल्सा सिमकोट सडक आयोजनामा इन्जिनियर नीरज राजवंशीले नदी किनारमा निस्केको तातोपानी व्यवस्था गर्न सफल भएपछि पुलको पिलरको ( र्याफ्ट ) निर्माण कार्य सुरु गर्न सफल भएको बताउनुभयो । 

र्याफ्ट निर्माण कार्य अगाडी बढेको कारण पानीले समस्या नहुँने बताउँदै उहाँले पुलको डी लिफ्ट निर्माणपछि ढलान गर्दा क्यामिकल मिसाएका तातोपानीले कुनै असर नगर्ने बताउनुभयो । पुल निर्माणका लागि ठेक्का सम्झौता आयोजनाले २०७८ साल असोज १४ गते गरेको थियो । 

निर्माण सामाग्री जम्मा गर्न ढिलाइ भएको कारण पुलको काम अगाडी बढ्न सकेको थिएन । अहिले सामाग्री जम्मा भएपछि पुलको निर्माण कार्य सुरु भएको हो । उहाँले पुल निर्माण गर्न समस्या तातोपानीले गरेको कारण समस्या उत्पन्न भएको भएपनि अहिले पानीको व्यवस्थापन गरी निर्माण कार्य धमाधम भइरहेको कारण समयमै निर्माण कार्य पुरा हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माण गर्न भ्याट बाहेक दश करोड ४८ लाख रुपियाँ लाग्ने गरी आयोजनाले सम्झौता गरेको छ ।