• २३ असार २०८१, आइतबार

जलेश्वरमा पानीको हाहाकार

blog

जलेश्वर नगरपालिका खानेपानी वितरण गरिँदै।

नागेन्द्रकुमार कर्ण

महोत्तरी, जेठ २८ गते । जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरूमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो । 

जलमा विराजमान जलेश्वर महादेवको नामबाट नामाकरण भएको जलेश्वरमा अहिलेसम्म पानीको अभाव नभएको वृद्धहरू बताउँछन् । जलेश्वर नगरपालिका ४ का वृद्ध प्रभु महतोले अहिलेसम्म पानीको अभाव यस वर्ष जस्तो पहिले नभएको बताउनुहुँदै भन्नुभयो, “यहाँको पानी मिठो भएको कारण यसक्षेत्रमा आउने पाहुनाहरू बोतलको पानी (मिनरल वाटर) भन्दा धाराकै पानी खान रुचाउँछन् । तर यस वर्षको प्रचण्ड गर्मीले पानीको अभाव भएपछि बोतलको पानी खान बाध्य छन् ।”

अहिले यस क्षेत्रमा २९ देखि लिएर ४४ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ । 

जलेश्वर क्षेत्रमा खानेपानीको अभाव हुन थालेपछि नगरपालिकाले नगरक्षेत्र भित्र पानी वितरण थालेको छ । नगरपालिकाले पानी ट्याङ्कीको माध्यमबाट नगर क्षेत्रमा पुगी पानी वितरण थालेको जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिनुभयो । उहाँले नगरपालिकाको हरेक वडामा पानीको समस्या देखिएकोले पानी वितरण गरिएको बताउनुभयो ।

जलेश्वर नगरपालिका वडा नं. १ का युवा रञ्जित राउतले संसारीमाई पञ्च वर्षीय महापूजाको समयमा घरघरमा आगन्तुकहरू आउन थालेपछि तथा प्रचण्ड घाम र गर्मीको कारण यस क्षेत्रमा पानीको चरम अभाव देखिएको बताउनुहुँदै यस्तो समस्या जलेश्वरमा अहिलेसम्म आफूले कहिलेपनि नसुनेको बताउनुभयो । जलको ईश्वर विराजमान हुने जलेश्वरमा यसरी जलको अभाव हुनु वातावरणीय प्रभाव रहेको बताउनुहुँदै युवा राउतले भन्नुभयो, "चुरे संरक्षण र वृक्षारोपण नगर्ने हो भने आगामी दिनहरूमा यो समस्या चरममा पुग्ने देखिन्छ ।"

पानीको स्तर कम भएको कारणले मोटरले पनि पानी तान्न नसक्दा संसारीमाईको महापुजामा धेरैले बोतलकै पानी प्रयोग गरेको छ । जलेश्वरको महेन्द्र चोकमा पसल सञ्चालन गर्नुभएका रियाज धोबीले एक दिनमा मात्रै आफूले सयभन्दा बढी कार्टुन बोतलको पानी विक्री गरेको बताउनुहुँदै जलेश्वरमा पानीको अभाव चरममा पुगेको बताउनुभयो । 

जलेश्वर नगरपालिका वडा नं. २ का मुकेश पासमानले आफ्नो वडाका सम्पूर्ण पासमान बस्तीमा रहेको चापाकल सुकिसकेको अवस्थामा रहेको बताउनुहुँदै पानीको अभाव जलेश्वरले यसरी कहिल्यै पनि नझेलेको बताउनुहुँदै दीर्घकालीन समाधानको लागि सरोकारबाला निकायहरूलाई लाग्न आग्रह गर्नुभयो ।