• ९ मंसिर २०८१, आइतबार

साहित्यभित्र फस्टाएको पत्रकारिता जगत्

blog

सञ्चार समाजीकरणको महत्त्वपूर्ण माध्यम भए पनि सबै सञ्चार आमसञ्चार होइनन् । न त आमसञ्चार स्वतः पत्रकारिता हो । ठूलो सङ्ख्यामा पाठक–दर्शक–श्रोतालाई संलग्न गराउँदै पत्रकारिताले केही अनिवार्य विशेषताहरू आत्मसाथ गर्छ, जसबिना त्यसले आफ्नो विशिष्ट पहिचान गुमाउँछ । यद्यपि साहित्यका कुनै न कुनै आधारभूत विशेषताले धेरै प्रकारका सञ्चारमा स्थान पाउँछ । हुन पनि साहित्य जीवन तथा विचारको चित्रण हो ।

शब्दसागर

गोरखापत्रका पूर्वप्रधानसम्पादक गोकुलप्रसाद पोखरेलका अनुसार साधारण अर्थमा एक व्यक्तिबाट अर्को व्यक्तिसम्म सङ्केत, बोली, लिपि वा अन्य कुनै प्रकारले विचार, धारणा एवं जानकारी पु-याउने कामलाई सञ्चार भनिन्छ । जब एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशका रूपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार वा जनसञ्चार भनिन्छ । प्रत्यक्ष रूपमा गरिने सञ्चारको तुलनामा जनसञ्चारको कला निकै जटिल हुन्छ । किनभने विभिन्न प्रवृत्ति र धारणाका हजाराँै लक्षित समुदायलाई एकै पटक एकै किसिमका सूचनाहरू प्रवाहित गर्दा सञ्चारकर्मीले कुनै व्यक्ति विशेषका चाहनालाई मात्र पूरा गर्ने गरी सन्तुष्टि दिन सक्दैन । 

आजभन्दा हजारौँ वर्षअगाडि विद्वान्हरू आफ्नो मस्तिष्कमा  साहित्य सिर्जना गर्थे,  परिष्कृत पार्थे र नयाँ पुस्तालाई हस्तान्तरण गर्थे । लेखनको आगमनले विचार, नतिजा–निष्कर्ष तथा अनुभवलाई आम पाठक–श्रोता समक्ष पु¥याई सञ्चय गर्न र जोगाउन योगदान दिन्थे । त्यसैले स्लोआन र स्टोभल  (सन् १९८९)ले लेखनलाई “मानव जातिको सांस्कृतिक विकासक्रममा सबैभन्दा क्रान्तिकारी आविष्कार”का रूपमा व्याख्या गरेका छन् । ह्यारल्ड रिग्गिन्स (सन् १९९२)का अनुसार आज विश्वमा करिब चार हजार भाषा बोलिन्छन् । दुर्भाग्यवश ती भाषामध्ये आधाजति एक शताब्दिभित्र लोप हुने देखिन्छन् । 

कठोर जोखिम

छापाका केही रूप चीन र कोरियामा एघारौँ शताब्दीमा विकसित भइसकेका भए पनि जर्मनीका जान गुटेनवर्गद्वारा सन् १४५० को दशकमा निर्मित हस्तसञ्चालित छाप्ने मेसिनले शीघ्र नै धेरै स्वीकार्यता पायो । माइन्स सहरका ती जर्मन आविष्कारकको मृत्यु अभावै अभावमा भए पनि उनको अविष्कार अन्ततोगत्वा व्यापक व्यावसायिक प्रयोगमा सफल रह्यो । सो आविष्कारसँगै किताब उद्योगको उदय भयो । त्यसपछि आए किताबी आकारका समाचारपत्रहरू पहिला दुई पृष्ठका अनि चार पृष्ठका ।

धेरै छापखाना सञ्चालकहरूले छापिएका समाचारप्रतिको माग पूर्ति गर्ने प्रयास गरे तर त्यो खतरायुक्त पनि थियो । इङ्ग्ल्यान्डका राजा चाल्र्स प्रथमबारे आलोचनात्मक टिप्पणी गर्दा लन्डनवासी विलियम प्रायनलाई सन् १६३४ मा पाँच हजार पाउन्ड जरिवाना गरियो, उनको कान काटियो, उनलाई टावर अफ लन्डनमा एक वर्ष जेल सजाय दिइयो । उनको विश्वविद्यालयको डिग्रीसमेत खोसियो । राजाको अधिकार कटौती गर्न चर्चित म्याग्नाकार्टा घोषणा भएको २२५ वर्षअघि यो घटना घटेको थियो । 

आखिर करिब २५०० वर्षअघि एथेन्स राज्यका अधिकारीहरूबाट मृत्युदण्ड पाएका ग्रिसेली दार्शनिक सोक्रेटिस (इ.पू. ४६९–३९९)ले आफ्नो अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्नुभन्दा विष सेवन रोजे ।

सूचित गर्न र शिक्षित बनाउन शब्दहरूको अहम् भूमिका हुनाले सामाजिक एकाइहरू एकअर्कासँग जोडिन सक्छन् । शब्दहरूले विगतका स्वरहरूलाई प्रतिनिधित्व गर्ने, वर्तमानलाई डो-याउने र चिरकालका लागि ज्ञानलाई सुरक्षित राख्ने काम गर्छन् । बेलायतका नामुद अङ्ग्रेजी लेखक सलमान रुस्दीले आफ्नो पन्ध्रौँ उपन्यास भिक्ट्री सिटीको गत माघमा विमोचन गर्दा भने, “शब्दहरू एक मात्र विजेता हुन् ।” 

लेखन लेखकको हृदयको अभ्यन्तरबाट निक्लेको जोश हो । यसले विगतका विचारलाई वर्तमान र भविष्यसित बाँड्छ र जोड्छ । त्यसैगरी पढ्नु एक मिश्रित यात्रा हो, जसको प्रमाण पठन सामग्रीको अन्तर्वस्तु र पाठकको व्याख्यामा निर्भर हुन्छ । अङ्ग्रेजी निबन्धकार फ्रान्सिस बेकनको एक भनाइ आज पनि सान्दर्भिक छ । “केही किताबहरू चाख्नका लागि हुन्, केही निल्नका निम्ति । कति कमचाहिँ चपाउन तथा पचाउनका लागि हुन् ।” यो कुरा समाचार माध्यमका सामग्रीको हकमा पनि लागू हुन्छ । 

अङ्ग्रेजी साहित्यका सर्वोत्कृष्ट नाटककार विलियम सेक्सपियरभन्दा करिब १८०० वर्ष अगावै लेखिएको भरतमुनिको नाट्य शास्त्र सङ्गीत तथा नाटकसम्बन्धी पहिलो विस्तृत साहित्य रचना थियो । संस्कृतमा लेखिएको यस कृतिमा निर्देशक र श्रोताबीचको सम्बन्ध, नाटकको संरचना, अभिनय कला, पहिरन, सङ्गीत तथा साङ्गीतिक साधनहरू, मञ्चको साजसज्जा र दर्शकका लागि सभास्थानको व्यवस्थापकीय पक्षहरूका व्याख्या पाइन्छन् । 

नाट्य शास्त्रले समाजलाई सूचित गराउने सल्लाह, शिक्षा, मनोरञ्जन र मार्गदर्शन दिनुका साथै  रङ्गमञ्चको भूमिकाबारे चर्चा गर्छ । स्पष्ट भाषा र दर्शकको चाहना तथा बुझाइको स्तरअनुसारको शब्द र संवादको प्रयोग गर्न जोड दिइएको छ । आज विश्वभरि पत्रकारिताका विद्यार्थी र पत्रकार यी सिद्धान्तसित परिचित छन् । यसलाई सर्वप्रथम व्यावसायिक औपचारिक तवरले सूत्रपत गर्ने व्यक्तिबारे प्रायः अनभिज्ञ रहे पनि । 

ह्यारी पोर्टर उपन्यास शृङ्खला लेखी प्रसिद्धि पाएकी अमेरिकी लेखक जे.के. रोलिङको पहिलो पाण्डुलिपि १२ पटक अस्वीकृत भएपछि मात्र त्यसले प्रकाशक पायो । बाँकी बन्यो बिक्री तथा सफल लेखकीय इतिहास । जम्मा १४ पटक अस्वीकृत भएपछि बल्ल प्रकाशित भएको १९औँ शताब्दीकी एमिली ब्रन्टेको विदरिङ हाइट्स अङ्गेजी साहित्यको एक कालजयी कृति बन्यो । 

सशक्त तरिकाले शब्दहरू चिरकालसम्म सदा सजग रहन्छन् । त्यसको रसास्वादन वर्तमान र भावी पुस्ताले गर्न पाउँछन् । अमेरिकी पत्रकार तथा नोबेल पुरस्कार विजेता अर्नेस्ट हेमिङ्वेले आफ्ना सुप्रसिद्ध उपन्यास अ फेरवेल टु आम्सर््को अन्तिम पृष्ठ ३९ पटक लेखेपछि मात्र सन्तुष्ट भए । उनका लागि, “गद्य विशुद्ध कलाकारिता हो, आन्तरिक साजसज्जा मात्र होइन ।” 

 नेपालका सन्दर्भमा गरिएको एक अध्ययन (खरेल, १०१०) अनुसार १३ वटा ‘क’ वर्गका राष्ट्रिय दैनिक पत्रिकाका प्रथम पृष्ठमा छापिएका समाचारमध्ये ६९ प्रतिशत राजनीतिक विषयवस्तुमा आधारित थिए । ती राजनीतिक समाचारमध्ये ८४ प्रतिशतले  काठमाडौँ  मिति रेखा दिएका थिए । 

यसैगरी नेपाल प्रेस काउन्सिलकोे वर्गीकरणमा ‘क’ श्रेणीमा राखिएका १३ वटा साप्ताहिक प्रकाशनमा भने प्रथम पृष्ठमा छापिएका समाचारमध्ये ८९ प्रतिशत राजनीतिक विषयवस्तुमा आधारित थिए । ती राजनीतिक छापाहरूमध्ये ९९ प्रतिशतले  काठमाडौँ  मिति रेखा दिएका थिए । 

सो सामग्री विश्लेषण जेठ–असार महिनाका ३० दिनमा आधारित थियो, जसले ठूला सञ्चारमाध्यमले समाचार, विषय र क्षेत्रगत हिसाबले केकस्तो स्थान र प्राथमिकता दिन्छन् भन्ने नमुना दिएको छ । 

क्यानेडेली तथा अमेरिकी विश्वविद्यालयका प्राज्ञ हर्वट मार्सल मक्लुहनले ‘विश्वग्राम’ लगायतका सञ्चारमाध्यमसम्बन्धी सिद्धान्तहरूको प्रतिपादन गरे । यहाँ स्मरणीय छ, उनी विश्वविद्यालयका अङ्ग्रेजी साहित्य विभागमा थिए । वास्तवमा पत्रकारिता तथा आमसञ्चारका पाठ्यक्रमलाई सुरुका दिनमा पश्चिमा मुलुकका विश्वविद्यालयहरूमा अङ्ग्रेजी विभागअन्तर्गत राखिन्थ्यो । नेपालमा पनि सुरुमा काठमाडाँैस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको अङ्ग्रेजी विभागअन्तर्गत राखिएको थियो । पछि मात्र यो विषयले स्वतन्त्र विभाग पायो । पत्रकारिताको पठनपाठन कुनै पनि अन्य भाषाको साहित्य विभागमा हुन सक्छ– नेपाली, मैथली, नेपालभाषा आदि । यसको कारण यो हो कि साहित्य विधाका धेरै गुण सञ्चारका लागि पनि सदैव आवश्यक तìव हुन्छ । 

पत्रकारितामा विस्तार

नियमित रूपमा प्रकाशित समाचार पत्रिकाहरू पहिले जर्मनी (१६१८), फ्रान्स (१६२०), ब्रिटन (१६२१) र इटली (१६३६)मा उदय भए । अमेरिकाको पहिलोे पत्रिका (१६९०) प्रथम संस्करणपश्चात् नै बन्द भयो किनकि त्यहाँका बेलायती गभर्नरलाई त्यसका आलोचनात्मक सामग्री पाच्य भएन । बेलायती औपनिवेशिक राज रहेको भारतको पहिलो पत्रिका बेंगाल गजेट १७८५ मा निक्ल्यो । नेपालमा राणा प्रधानमन्त्री जङ्गबहादुरको बेलायत भ्रमणको एक वर्षपछि १८५१ मा पहिलो छापाखाना सञ्चालनमा आउँदा भारतमा विभिन्न क्षेत्रीय भाषाहरूमा बीसौँ समाचार पत्रिकाहरू थिए । आधा शताब्दीपछि देव शमशेर जबराले आफ्नो ११४ दिने प्रधानमन्त्रित्व कालमा १९०१ मा राष्ट्रको पहिलो समाचारपत्र गोरखापत्र साप्ताहिकको प्रकाशन गरेर आफ्नो छुट्टै पहिचान बनाए । आज गोरखापत्र नेपालको एक प्रमुख दैनिकका रूपमा प्रकाशित छ । 

सन् १८३० को दशकको सुरुवाती वर्षहरूतिर अमेरिकामा ‘पेनी पे्रस’को आगमन भयो । पत्रिकाको बिक्री मूल्य न्यून राखी पाठक सङ्ख्यामा बढोत्तरी भई विज्ञापन आम्दानी आकर्षण गर्नु त्यस नीतिको नौलो र क्रान्तिकारी पाटो थियो । तर त्यसैले पाठकको ध्यान आकर्षित गर्न र बिक्री बढाउन पत्रिकाहरूबीच अत्यधिक अस्वस्थ प्रतिस्पर्धा पनि निम्त्यायो । अखबारले आफ्ना उद्देश्य प्राप्तिका लागि भाषालाई नै ठूलो औजार बनाए । 

अमेरिकी प्रकाशक–सम्पादक एलिजा पेरिस लभजोय (१८०२–१८३७) सम्भवतः सञ्चार जगतको पहिलो शहीद हुन् । उनको पत्रिकाले कुनै पनि प्रकारको दासब्यापारको भत्र्सना गथ्र्यो । दासप्रथाको पक्षधर भीडले उनको छापाखानालाई अमेरिकाको एक नदीमा फालिदियो र अन्ततोगत्वा उनको हत्या नै ग-यो । 

सार्वजनिक छलफल, विचारको गतिशीलता, नागरिक सक्रियता, सामाजिक उत्तरदायित्व र सञ्चारमाध्यमको विश्वसनीयता असल पत्रकारिताका चिह्न हुन् । तर ‘पेनी प्रेस’ले पीत पत्रकारिता र अत्यधिक सन्सनीपूर्ण समाचारको युगको पनि आरम्भ ग¥यो  । टेब्लोइड आकारका पत्रिकाले १९औँ शताब्दीमा जन्माएको पीत पत्रकारिताकोे नाम पहेँलो पृष्ठभूमिमा प्रकाशित एक कार्टुन शृङ्खलाको चित्रबाट प्रेरित थियो । 

पीत पत्रकारिताले अपमानजनक र झुटा सामग्री पनि पस्कन्थ्यो भने सन्सनीपूर्ण समाचारमा मात्र केन्द्रित पत्रिकाहरूले भने पीत पत्रकारिता गर्दैन थिए, उनीहरू तथ्य बङ्ग्याउँदैन थिए, लेखन र प्रस्तुति शैली भने उत्तेजनात्मक हुन्थे ।

तथ्यपरकभन्दा कोरा हल्लामा आधारित बढाइचढाइ गरिने व्यवसायलाई पीत पत्रकारिता भनिन थालियो । पत्रकारितालाई इतिहासको पहिलो मस्यौदाका रूपमा पनि काम गर्ने तथा हतारमा गरिने साहित्य भनिए पनि त्यसले तथ्य र व्यावसायिक रूपमा स्थापित मूल्य–मान्यता तथा असल अभ्यासमाथि सम्झौता गर्नुहुन्न । व्यावसायिक पत्रिकारिताले तथ्यलाई बङ्ग्याउने, तथ्यको गलत अर्थ लगाउने र झुटा सूचना सम्प्रेषण गर्दैन । पत्रकारिताले गुणस्तर र विश्वासनीयता सुनिश्चित गर्न चाहिने आवश्यक तìवहरू कायम गर्दै शैली तथा भाषा प्रयोगमा एकरूपतामा ध्यान दिन्छ  । 

शआफूलाई होइन आफ्ना पाहुनालाई स्थान दिन चाहने किङले पाहुनालाई प्रश्नका उत्तर दिने प्रशस्त मौका प्रदान गर्थे । प्रश्नबाटै उनले निम्त्याइएका पाहुनाकोे चित्रण दर्शक माझ पेस गर्थे । टीभी अन्तर्वार्ताकारलाई किङको सुझाव थियो, “आफू धेरै नबोल । दर्शक टीभीबाट दिक्क हुन्छन् । आफ्ना पाहुनालाई बोल्न देऊ । उनीहरू तिम्रो पाहुनालाई हेर्न आएका हुन्, तिमीले तिम्रोबारे बोलेको सुन्न आएका होइनन् ।”

आमश्रोतालक्षित  समाचार सामग्री सम्प्रेषण गर्दा प्रायः सबैभन्दा महत्त्वपूर्ण पाटोलाई अग्रस्थान दिई क्रमशः कम महìवपूर्ण पाटाहरूलाई त्यसपछि राखिन्छ । विशेष समूहलक्षित लेखनमा अति सावधानी तथा संवेदनशीलता अपनाइन्छ । 

तीस वर्षभन्दा अगाडि टाइम म्यागजिनका बेइजिङ विभाग प्रमुख रहेका व्यक्तिले आफ्नो कार्यकक्षको भित्तामा आफ्नो कुर्सी पछाडि यो लेखेर राखेको बताइन्छ, “यदि यहाँ लेखिएको कुनै कुरा हुबहु टाइम म्यागजिनमा छापिन्छ भने त्यसलाई संयोग मान्नुहोस् ।” यसलाई दुई तरिकाले अथ्र्याउन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक बिक्री हुने अङ्गे्रजी समाचार साप्ताहिक पत्रिकामा हुने व्यापक पुनर्लेखन माथिको व्यङ्ग्यात्मक टिप्पणी अथवा त्यस प्रकाशनको सम्पादकीय नीति कति कडा–जोडदार थियो भन्ने सन्देश । 

 प्रेसलाई वितृष्णाले हेर्न थाल्ने एउटा चर्चित नाम हुन् थमस जेफर्सन, अमेरिकाका तेस्रो राष्ट्रपति । पदभार ग्रहण गर्नुभन्दा अघिसम्म उनले भन्थे, पत्रिकाबिनाको समाज र सरकारबिनाको समाजबीच चुन्नुपर्दा आफूले पत्रिकाको उपस्थिति छान्ने थिएँ । तर राष्ट्रपति निर्वाचित भएपछि एक निजी चिठीमा तिनै जेफर्सनले भने, “पत्रिकाबाहेक केही नपढ्ने मानिसभन्दा केही नपढ्ने मानिस शिक्षित हुन्छ ।”

सूचना संसार 

तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राजीनामामा पटाक्षेप भएको ‘वाटरगेट’ कान्डबारे महìवपूर्ण समाचारहरू (सन् १९७० को दशकमा) लेख्ने वासिङटन पोस्टका दुई पत्रकारले एक हजार जनाभन्दा बढी व्यक्तिलाई चार महिनाको समयावधिमा अन्तर्वार्ता लिएका थिए (वन्स्र्टाइन र उडवर्ड, १९७५) । 

अस्ट्रेलियामा जन्मेका ‘विकिलिक्स’का प्रकाशक–सम्पादक  जुलियन असान्ज पत्रकारिताको एक जिउँदो शहीद हुन्, जो अमेरिका र बेलायतजस्ता शक्तिशाली राष्ट्रका सरकारको तारो बनेका छन् । उनको ‘अपराध’ : अक्टोबर २२, २०१० मा उनको संस्थाले इराकमा भएको पश्चिमा आक्रमणमा ६६, ०८१ आम नागरिक मारिएको कुरा उल्लेख भएका गोप्य दस्तावेजहरू सार्वजनिक ग¥यो । अन्य स्रोतहरूले कम्तीमा दस लाख आमनागरिक त्यस युद्धमा मरेको दाबी गर्छन् । 

विकिलिक्ससँग सहकार्य गर्दै केही प्रमुख पश्चिमा प्रजातान्त्रिक मुलुकहरूका पाँच प्रसिद्ध समाचार संस्थाहरूले त्यसबेलासम्म गोप्य रहेको यस्तै सूचना शृङ्खलाबद्ध रूपमा प्रकाशन गर्न थाले । विश्वव्यापी रूपमा पनि समाचारमाध्यममा प्रमुख स्थान पाएका यी समाचारले भ्रष्टाचार र कूटनीतिक कान्डहरूलाई बाहिर ल्याए । 

वास्तवमा तेस्रो विश्वयुद्धपछिको समयमा यो समाचार शृङ्खला ठूलो ‘स्कुप’ (साह्रै महìवपूर्ण र अन्य माध्यमले भेउ नपाएका) समाचारमध्येको एक थियो । विकिलिक्सका खुलासाहरूलाई आपूmले पनि प्रयोग गर्ने पहिला पत्रिकाहरूले भने केही समयपछि त्यसका प्रकाशकलाई अछूतको व्यवहार गरे १२ वर्षसम्म ।

मार्च २०२३ मा द न्युयोर्क  टाइम्स (अमेरिका), द गार्डियन (बेलायत), ल मन्ड  (फ्रान्स), एल पे (इटली) र द स्पाइगल (जर्मनी)का सम्पादक र प्रकाशकहरूले संयुक्त रूपमा अमेरिकी राष्ट्रपति जोन वाइडेनलाई विकिलिक्सका प्रकाशक असान्जमाथिको मुद्दा रोक्न आह्वान गरे । उनीहरूले बल्ल स्वीकारे कि असान्जले अन्तर्राष्ट्रियव्यापी रूपमा  रहेको भ्रष्टाचार, कूटनीतिक कान्ड र जासुसी गतिविधिहरूको खुलासा गरेर जनतालाई सुसूचित गराएका थिए । 

स्वाभाविक रूपमा प्रश्न उठ्छ, उनीहरूलाई आफ्नो कोलहालयुक्त गैरव्यावसायिक मौनता तोड्न किन १२ वर्ष पर्खन प-यो ? 

समाचार माध्यमले विचार–लेख र विशुद्ध साहित्य दुवै प्रकारका रचनाहरूलाई स्थान दिन्छन् । प्रायः लेखकहरू वर्तमानका लागि लेख्छन्, आफ्नो विचार राख्न र आफ्नो उपस्थिति  जनाउन । अझै धेरै त लेखकको बथानमा आफूलाई दर्ता गराउन मात्र पनि इच्छुक हुन्छन् । आफ्ना भावना र विचार व्यक्त गर्दा पाउने आनन्दका लागि लेख्नेहरू दुर्लभ प्राणी हुन् । १८औँ शताब्दीका अङ्ग्रेजी कवि टमस ग्रेले लेखेका थिए, “कुनै पनि मूर्खले एक मूल्यवान पुस्तक लेख्न सक्छ, यदि उसले हामीलाई देखेको कुरा सत्यतासहित बताउँछ भने ।” यो  उद्गार पत्रकारितामा पनि उत्तिकै लागू हुन्छ । 

इच्छा र आनन्दबाट अभिप्रेरित लेखन रमाइलो र सजिलो काम हुन सक्छ । आफूतिर ध्यानाकर्षण गर्ने मात्र उद्देश्यले लेख्ने रचनाकार अश्लीलताका ब्यापारी हुने खतरा हुन्छ । पत्रकारिता लेखनमा समयसीमा (डेडलाइन) को दबाब उच्च र प्रतिस्पर्धा तीव्र हुन्छ । समाचार सम्प्रेषण गर्ने पहिलो हुने होडबाजीमा प्रस्तुतिमा गर्न सकिने परिष्कार ओझेलमा पर्न सक्छ–  छापा, अनलाइन, श्रव्य–दृश्य, सबै प्रकारका समाचारमाध्यम ।

निष्ठा नै पत्रकारिताको अन्तिम व्यावसायिक धर्म हो । यसबारे नेपालको पहिलो अङ्ग्रेजी दौनिक द कमनरका संस्थापक प्रकाशक–सम्पादक गोपालदास श्रेष्ठको (वि.सं. २०५८) भनाइ सान्दर्भिक हुन्छ,   “वस्तुपरकता र विमति दुवै पत्रकारिताका महìवपूर्ण पक्ष हुन आएका छन् । यी दुवैको समिश्रणले निस्पृहतालाई पनि पत्रकारितामा एक आवश्यक मानसिकता बनाइदिएको छ । जीवनका विभिन्न परिस्थितिहरूमा पत्रकारिता न त वस्तुपरक बन्न सक्दछ, न यसले असंलग्न विमतिलाई व्यवहारमा ल्याउन सक्छ । संलग्न रहेर पनि असंलग्न हुनु, विमतिमा पनि शत्रुवत् नहुनु– यी पत्रकारिताका केही यस्ता आचरण हुन्, जसको अनुपस्थितिमा बौद्धिकीकरणको व्यावसायिक प्रक्रिया पनि शुद्ध रूपमा सम्भव हुँदैन ।” 

सन्दर्भसामग्री 

बर्नस्टाइन, कार्ल र उडवर्ड, बब (१९७५) । अल द प्रेसिडेन्ट्स मेन । न्युयोर्क : साइमन र सुस्टर पेपरब्याक्स ।

भरत–मुनि (२००७) । नाट्य शास्त्र । वाराणासीः चौखम्बा संस्कृत सिरिज अफिस ।

ब्रेडी, जोन (१९७६)। (द क्राफ्ट अफ इन्टभ्र्यिुइङ । न्युयोर्कः भिन्टेज बुक्स ।

खरेल, पी (२०१०) पोलिटिकल कम्युनिकेसनः मिडिया, मेसेज एन्ड मिनिङ । काडमाडौँः सङ्गम इन्स्टिच्युट ।

पोखरेल, गोकुल (वि.सं.२०५८) । “आम–सञ्चारः सिद्धान्त र विचार ।” पत्रकारिताः हाते किताब ।

 काठमाडौँ प्रेस इन्स्टिच्युट ।

पोल्लार्ड माइकल (१९९५) । जोहान गुटेनवर्ग । हैदरावादः ओरियन्ट लङ्गुमान । 

रिगिन्स, हेरोल्ड (१९९२) । एथ्निक माइनोरिटी मिडिया । न्युदिल्लीः सेज पब्लिकेसनस ।

श्रेष्ठ, गोपालदास (वि.सं. २०५८)  “चुनौती र सम्भावनाहरू ।” पत्रकारिताः हाते किताबः  काठमाडौँ नेपाल प्रेस इन्स्टिच्युट ।

स्लोउन, डब्लु डेभिड र स्टोमाल, जेम्स जी (२०१४) । द मिडिया इन अमेरिका । अ हिस्ट्री ।  वासिङटन एमेजोन ।