अविनाश चौधरी
धनगढी, जेठ १ गते । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलमा विवाद उत्पन्न भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनाउने विषयमा पार्टी संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रन्जिता श्रेष्ठ पक्षधरबिच विवाद देखिएको हो ।
मन्त्री बनाउनका लागि अध्यक्ष श्रेष्ठले बुधबार कैलाश चौधरीको नाम सिफारिससहित निर्देशनात्मक पत्र पठाउनु भएको थियो । तर संसदीय दलले त्यसलाई कार्यान्वयन गरेन ।
अध्यक्षको पत्र पश्चात दिनभरि बसेको संसदीय दलको बैठकले अबेररातिमात्रै बहुमतको आधारमा दलका नेता घनश्याम चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो । दलका प्रमुख सचेतक इन्दिरा गिरीले बहुमतका आधारमा निर्णय गरेर चौधरीलाई मन्त्री बनाउनका लागि नाम सिफारिस गरेको जानकारी दिनुभयो ।
सो बैठकमा गिरीसहित घनश्याम चौधरी, रामेश्वर चौधरी र खुशीराम डङ्गौरा गरी चार जनाको उपस्थिति रहेको थियो । सातमध्ये दुई जना प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरी र टीका थापा काठमाडाैँ रहेकाले बैठकमा उपस्थित नभएको जनाइएको छ । अर्का प्रदेश सभा सदस्य कैलाश चौधरी भने बैठकमा सहभागी नभएको जनाइएको छ ।
संसदीय दलको बैठकबारे आफूलाई जानकारी नै नभएकाले बैठकमा उपस्थित नभएको चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई बैठकबारे जानकारी नै भएन । पार्टी अध्यक्षले मेरो नाम सिफारिससहितको पत्र पठाएपछि चित्त नबुझ्दा मलाई छलफलका लागि बोलाउनु पर्दथ्यो । तर बोलाइन । अध्यक्षले मेरो नाम सिफारिस गर्नुलाई एकदम सकारात्मक रूपमा लिएको छु”, उहाँले भन्नुभयो ।
आफ्नो पक्षको बहुमत देखाएर संसदीय दलको नेताले एकलौटी काम गर्न खोजिरहेको चौधरीको आरोप छ । “दलको नेता उहाँ नै, समितिको सभापति पनि उहाँ नै, मन्त्री पनि उहाँ नै बन्न खोज्ने, यो त संसदीय दलको नेतामा हुनु पर्ने गुण होइन”, उहाँले भन्नुभयो ।
तर पार्टी अध्यक्षले सिफारिस गरेको पत्रको आधारमा मन्त्रीको नाम सिफारिस गर्नुभन्दा पनि संसदीय दलले आफ्नो अधिकार प्रयोग गर्नु उचित रहेको प्रमुख सचेतक गिरीको भनाइ छ । “पार्टी अध्यक्षले पठाएको नामभन्दा पनि संसदीयले बहुमतको आधारमा नाम पठाउनुलाई हामी मिलेर गएको बुझ्नुस”, उहाँले भन्नुभयो, “यो विवाद होइन । हामी मिलेर गएको हो ।”
संसदीय दलले नाम सिफारिस गरे पनि घनश्याम चौधरी आफू मन्त्री बन्न इन्कार गरेको बुझिएको छ ।