काठमाडौँ, जेठ २८ गते । दुध उत्पादनमा वृद्धि तथा आत्मनिर्भरका लागि नस्ल सुधारका लागि सरकारले भारतबाट १५ वटा मुर्रा जातका राँगा ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा दुध दिने भैँसीको सङ्ख्या १६ लाख ३० हजार ६४२ रहेका छन् ।
नेपालमा लिमे, पारकोटे र गड्डीलगायत स्थानीय जातका भैँसी छन् । नेपालमा उन्नत जातका मुर्रा र निलिराभी भैँसी रहेका छन् तर ती मुर्रा जातका भैँसी क्रस भैँसीपालन गरिँदै आएको छ । पछिल्लो समय नेपालमा व्यावसायिक रूपमा भैँसीपालन गर्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।
कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ लाख ८० हजार छ सय मेट्रिक टन भैँसीको दुध उत्पादन भएको थियो । सो अवधिमा १६ लाख ३५ हजार ४९२ वटा दुध दिने भैँसीको सङ्ख्या थियो । त्यसपछि आव २०७८/७९ मा आइपुग्दा दुध दिने भैँसीको सङ्ख्या घटेको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताउनुभयो । जहाँ भैँसीको सङ्ख्या १६ लाख ३० हजार ६४२ पुगेको देखिन्छ । भैँसीको सङ्ख्या घटेको भए पनि दुध उत्पादन भने बढेको देखिन्छ । उक्त अवधिमा १४ लाख १९ हजार ४१२ मेट्रिक टन दुध उत्पादन भएको देखिन्छ । यसरी भैँसीको सङ्ख्या घटे पनि दुध उत्पादन वृद्धि हुनुको कारण उन्नत नस्लका राँगा ल्याएर सेक्स सिमेन किसानसमक्ष पु-याउनुलाई लिएको प्रवक्ता ढकालले बताउनुभयो ।