• १२ मंसिर २०८१, बुधबार

बोलेरो दुर्घटनामा चालकसहित तीनको मृत्यु

blog

प्रेमराज सिम्खडा         

कालीकोट, जेठ २८ गते । जिल्लाको शुभकालीका गाउँपालिका–६ मा  आइतबार राति सवार बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोही गाउँपालिकाको चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ आउँदै गरेको बोलेरो दुर्घटना भएको हो ।

आइतबार राति साढे १२ बजे हाउडीतर्फ आउँदै गरेको लु १ च ८४९८ नं को डबल क्याप जिप सडकदेखि करिब एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले दुर्घटना परी मृत्यु हुनेमा शुभकालीका गाउँपालिका वडा नं २ का जिप चालक ३० वर्षीय हर्के कामी,  शुभकालिका ८ बस्ने ३१ वर्षीय रामबहादुर शाही र दैलेख जिल्ला नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेको बताउनुभयो ।

प्रहरी प्रमुख रिमालले थप अनुसन्धानका लागि प्रहरी कार्यालय कालिकोटबाट प्रहरी  निरीक्षक यज्ञराज जोशीको कमाण्डमा प्रहरी टोली खटाइएको जानकारी दिनुभयो ।

रातिको समय दुर्घटना हुँदा ढिलो गरी थाहा भएको प्रहरीको भनाइ छ । यस अघि बिहीबार बिहान कालीकोटको सेरा बजारमा भएको जिप दुर्घटनामा श्रीमान श्रीमतीको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए ।