अर्जुन काफ्ले
स्याङ्जा, जेठ २७ गते । करिब दुई वर्षदेखि आँखा आसुले भरिएको देखिने कविता क्षेत्री सुनारको मुहारमा अहिले खुसी छाएको छ । आफ्नै बलात्कारको अभियोगमा श्रीमान् विपिन सुनार (पोतबहादुर) जिल्ला अदालतको फैसलामा १२ वर्ष जेल बसेपछि कविताको दैनिकी दुःखमा परिणत भएको थियो ।
कविता न्याय खोज्दै उच्च अदालतमा पुगेपछि भएको फैसलाले उहाँको मुहार र दैनिकीमा खुसी ल्याएको हो । पुतलीबजार नगरपालिका –१३ बडरेकी १६ वर्षीय कविताले अर्जुन चौपारी १ कौडीखोलाका १९ वर्षीय विपिन सुनार (पोतबहादुर) सँग २०७६ असोज ९ गते प्रेम विवाह गर्नुभएको थियो ।
बिहे गरेको आठ दिनमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कविताको परिवारको उजुरीमा खोजेर दुबैलाई आफ्नो परिवारको जिम्मा लगाइदिएको थियो । परिवारको जिम्मा लगाएको एक दिनमै असोज १८ गते केटा विपिनलाई माइती परिवारको दबाबमा श्रीमती कविताले आफ्नै बलात्कारको उजुरी जिल्ला अदालतमा दिन लगाएको थियो ।
कविताको उजुरी पश्चात् दुबै जना घरबाट भागेका थिए । कविताको पेटमा गर्भ बसेपछि उनी घरमा आएर बसेकी थिइन् । प्रहरीले भने केटालाई खोजेकाले विपिन लुकेर बसेका थिए । डेढ वर्ष जति लुकेका विपिन आफै जिल्ला प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।
२०७८ चैत २ गते माइतीको दबाबमा आफ्नै बलात्कार गरेको आरोप लगाएकी कविताले श्रीमान् निर्दोष रहेको र न्याय पाउँ भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको थियो ।
विपिन जेल बसेको चार महिनापछि २०७८ मङ्सिर १० गते एक हजार आठ सय रुपियाँ पीडित राहत कोषमा जम्मा र १२ वर्ष जेल सजायको फैसला जिल्ला अदालत स्याङ्जाले गरेको थियो । अदालतको फैसला पश्चात् २०७८ चैत २ गते माइतीको दबाबमा आफ्नै बलात्कार गरेको आरोप लगाएकी कविताले श्रीमान् निर्दोष रहेको र न्याय पाउँ भन्दै उच्च अदालत पोखरामा पुनरावेदन गर्नुभएको थियो ।
कविताकै पुनरावेदनमा जिल्ला अदालतको फैसलाको दुई वर्षमा २०८० वैशाख १० गते न्यायाधीश रमेशराज भण्डारी र डिल्लीराज आचार्यको इजलासले जिल्ला अदालतको निर्णय उल्टाउँदै जेल बस्नु नपर्ने फैसला गरेको थियो । उच्च अदालतको फैसलासँगै विपिन र कबिताबीच पुनः मिलन भएको छ ।
आफू क्षेत्री र विपिन बिक हुँदा नै चारैतिरबाट उमेर कम भएको नाममा षड्यन्त्रपूर्वक फसाउने काम भएको कविताको भनाइ छ । विपिनले नगरेको गल्तीको सजाय भोग्न जेलमा रहँदा छोरी र आफूले निक्कै कष्ट भोग्नुपरेको कविताले दुखेसो सुनाउनुभयो ।
जिल्ला अदालत स्याङ्जाको फैसला चित्त नबुझेपछि उच्च अदालत पोखरामा जाँदा आफ्नो पक्षमा फैसला आएको कविताले बताउनुभयो । माइतीपक्षको दबाबमा सुरुमा आफू जिल्ला अदालतमा उजुरी दिए पनि पछि गल्ती सच्याएको उहाँको भनाइ छ । उच्च अदालतको फैसला पश्चात् आफू, श्रीमान् र छोरीसहितको परिवार खुसीको साथ चलेको बताउँदै अब बाँकी जीवन साथै जिउने बताउनुभयो ।