• ११ मंसिर २०८१, मङ्गलबार

डेस्क–बेन्चको अभावमा विद्यार्थी धुलोमा बस्न बाध्य

blog

देवल आधारभूत विद्यालयमा भुईँमा बसेर अध्ययन गर्दै विद्यार्थी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, जेठ २७ गते । दक्षिणी क्षेत्रको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाको धुलाम्मे भुईँमा बसेर अध्ययन गर्न बाध्य भएका छन् । विद्यालयले कक्षा कोठामा डेक्स–बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीलाई भुईँमा बसेर अध्ययन गर्नुपरेको हो ।

सर्केगार्ड गाउँपालिका –१ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी चार वर्ष अघिदेखि यसरी भुईँमा बसेर अध्ययन गर्दै आएका छन् । विद्यालयका प्रधानाध्यापक कालीबहादुर रावतले आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थी जीर्ण डेक्सबेन्चमा बसेर अध्ययन गर्दै आएको भए पनि बाँकी बालविकासदेखि कक्षा ६ सम्मका सबै विद्यार्थी भुईँमा बसेर अध्ययन गर्ने गरेका छन् । 

बेन्च–डेक्स भएका कक्षाका लागि अभिभावक मिलेर २० हजार रुपियाँ उठाएर निर्माण गरिएका हुन् । भवन निर्माण गर्ने कार्य भए पनि कोठामा डेक्सबेन्चको व्यवस्था नहुँदा चार वर्षदेखि विद्यार्थी भुईँमा बस्दै आएको रावतले बताउनुभयो । 

विद्यालयको कक्षा कोठामा विद्यार्थीले घरबाट काठको टुक्रा वा ढुङ्गा बोकेर ल्याई त्यसमाथि बस्नेगरेको विद्यार्थीको भनाइ छ । विद्यालयमा २२० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् । प्रअ रावतले वडा, गाउँपालिका र अन्य शिक्षा क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायसँग डेक्सबेन्चका लागि आग्रह गर्दा हालसम्म कुनै पनि निकायबाट माग सम्बोधन हुन नसकेको बताउनुभयो ।