हरिकृष्ण ऐडी
मुगु, जेठ २७ गते । खोलामा माछा मार्नेक्रममा पानीमा करेन्ट छाड्दा युवकलाई नै करेन्ट लागेर मृत्यु भएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा १ र ४ मा पर्ने भट्टेचौर खोलामा माछा मार्नलाई प्रयोग गरिएको करेन्ट लगाउने क्रममा करेन्ट लागेर उहाँको मृत्यु भएको हो ।
छायाँ नाथरारा नगरपालिका वडा –४ भाम वाडा घर भएका १८ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । सोलारमा प्रयोग हुने ब्याट्री १२ भोल्टको इन्भर्टर बाट उत्पादन भएको करेन्टले खोलामा माछा मार्न गएका भामको दिउँसो २ बजेतिर खोलामा करेन्ट लागेर बेहोस भएपछि उहाँको जिल्ला अस्पताल मुगुमा उपचारका लागि लगिएको थियो ।
उपचारका लागि अस्पताल लग्नेक्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुदर्शन पन्तले बताउनुभयो । शव पोष्टमार्टनमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ । माछा मार्न प्रयोग गरिएका ब्याट्री र इन्भर्टर प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।