• १० मंसिर २०८१, सोमबार

पश्चाताप (कथा)

blog

“मैले उसलाई धन्यवाद पनि दिइनँ । के सोचेको होला उसले ?” रमिता एक्लै कोठामा फतफताइ रहेकी थिई । म त्यसैबेला उनको कोठामा पुगेकी थिएँ । मैले सोधेँ, “रमिता, के भयो तिमीलाई यहाँ त कोही पनि देख्दिनँ कोसँग कुरा गरेको ।” मेरो आवाजले ऊ झसङ्ग भई । उसको अनुहार रातोपिरो भयो ।

“मीरा तिमी पो ! मलाई त कस्तो डर लाग्यो भन्या । के के बोलेँ कुन्नि पत्तै पाइनँ, तिमीले केही सुन्यौ ।”  “सबै सुनेँ । कसैले तेरो मन चोरे जस्तो छ नि !” मैले पनि उसको मनको कुरा खोतल्ने प्रयास गरेँ । छ्या ! तिमी पनि भन्दै ऊ लजाइ । 

रमिता मेरो मिल्ने साथी । प्लस टु साइन्स सँगै पढेका थियौँ । मैले प्लस टुपछि बि.एस्सी. पढ्न थालेँ । उसले एम.बि.बि.एस.को तयारी गरिरहेकी छे । भर्खरै धरानमा एम.बि.बि.एस.को प्रवेश परीक्षा दिन गएकी थिई । ऊ औधी राम्री छे । मान्छे जस्तै बानी बेहोरा पनि राम्रो छ । कजेलमा उसका पछाडि लाग्ने केटाहरू प्रशस्त थिए । उसले भने केटामान्छेलाई कमै महìव दिन्थी । किनकि उसले धेरै केटाले केटीलाई धोका दिएको देखेकी र पढेकी थिई । सायद ! केटामान्छे खराब हुन्छन् भन्ने छाप परेको थियो उसलाई । अचम्म ! उसले कुनै केटोलाई सम्झेकी छे । मैले उसलाई खुट्टादेखि माथिसम्म निहालेँ । सधैँ जिन्स पाइन्ट र टिसर्ट लगाउन मन पराउने रमिता आज रातो कुर्तासुरुवालमा सजिएकी छे । उसमा आज मैले धेरै परिवर्तन देखेँ ।

“चाला राम्रो त देख्दिनँ है रमिता ! यस्तो छाँटले डाक्टर त बनिँदैन ।” मैलै पुनः कुरा बुझ्न खोजेँ । ऊ अलि अन्कनाइ । आज मसँग पनि रमिता खुल्न सकेकी छैन । केही होइन भनेर पन्छिन खोजी । 

“केही त छ सिस ! म तिम्रो साथी होइन र ? मसँग पनि कुरा लुकाउने ? भन त कसलाई धन्यवाद दिन बिस्र्यौं ।”  “तिमी नै मेरो सबभन्दा नजिकको साथी हौ, सबै कुरा बताउँछु नि ।”  “उसो भए किन ढिला ? चाँडै सुनाउन न ! मलाई पनि सुन्न मन लाग्यो के ?” मेरो कुरा नसकिँदै उसले आफ्नो कुरा भन्न थाली ।

म धरानबाट फर्किने क्रममा इटहरीबाट काठमाडौँ जाने बसमा चढेँ । बाटोमा आउँदा नारायणगढ बन्द हुने हल्ला चल्यो । हेटौँडा आएपछि नारायणगढ हुँदै काठमाडौँ जाने भनेको बस पालुङको बाटो हुँदै काठमाडौँ जाने भयो । म हेटौँडामै उत्रे । एकछिन कुरेपछि नारायणगढ जाने माइक्रोबस पाएँ । म त्यसैमा चढेँ । बसमा एउटा सिट खाली थियो । म त्यही सिटमा बसेँ । मेरो सिट नजिकै एक जना युवक बसेको थियो । मैले उसतर्फ ध्यान दिएकी थिइनँ । ब्यागबाट पत्रिका झिकेर पढ्न थालेँ । उसले पत्रिकाको भित्री पेज पढ्न माग्यो । मैले ठाडो जवाफ दिएँ, “पढ्ने मान्छेले आफैँ किन्न पर्छ नि !” 

उसले विनम्रपूर्वक भन्यो, “हेर्नुस् बिहान पाँच बजे विराटनगरबाट चढेको पत्रिका किन्न पाइनँ ।” त्यसपछि मैले उसलाई पत्रिका पढ्न दिएँ । एकैक्षण पत्रिका पढेपछि फेरि उसले सोध्यो, “तपाईं कहाँबाट आउनु भएको हो ?” 

“धरानबाट” मैले छोटो उत्तर दिए ।

उसले मसँग बोल्ने प्रयास गरिरहेको थियो । तपाईंको नाम के हो ? घर कहाँ हो ? कहाँ जानुहुन्छ ? जस्ता धेरै प्रश्न गरेको थियो तर मैले पछिका कुनै प्रश्नको जवाफ दिइनँ । किनकि म ऊसँग कुरा गर्न नै चाहँदैनथे ।  त्यसैबेला अगाडि बाटो बन्द छ भन्ने जानकारी आयो । चिया पिएर जाउँला भन्दै चालकले गाडी रोके । सबै जना बसबाट ओर्लियौँ । बस धेरैबेरसम्म रोकियो । बिस्तारै साँझ पर्न थाल्यो । समयमै गन्तव्यमा नपुग्ने निश्चित भयो । नचाहँदा नचाहँदै पनि मलाई एक जना साथीको जरुरत थियो । त्यसैले यस पटक म आफैँ बोले, “तपाईं कहाँ पुग्ने नि ?”

“बुटवलसम्म पुग्न पर्ने, बन्दले दुःख पाइने भो । तपाईं नि ?” उसले प्रतिप्रश्न ग¥यो ।

“परासी”, मैले छोटो उत्तर दिएँ ।

मेरो संवादले उसको अनुहारमा प्रसन्नता छाएको महसुस गरेँ मैले । गाडी बिस्तारै अगाडि बढ्यो । दिन साँझ हुँदै रातमा परिणत हुन थाल्यो । चराचुरुङ्गी पनि बास बस्न थाले । हामीबिच बन्दले यात्रुलाई पर्ने कठिनाइका बारेमा सामान्य कुराकानी भयो । नारायणगढ बजार नपुग्दै बस पुनः रोकियो । अब यसभन्दा अगाडि बस जान नसक्ने जानकारी हामीलाई गराइयो । अगाडि जाम थियो । बसका यात्रु सबै झरे । त्यसबेला झन्डै रातको १० बजेको थियो । हामी अगाडि बढ्दै गयौँ । अँधेरी रात, आकाशमा बादल थियो । पानी पर्लाजस्तो भयो । नारायणगढ बजार पूरै बन्द थियो । त्यही पनि रात काट्ने आशामा हिँड्दै गयाँै । यसैबिच मैले उसको परिचय मागेँ । “म निश्चल, सरकारी कार्यालयमा अधिकृत पदमा कार्यरत छु । तालिमको व्रmममा विराटनगर गएको थिएँ । हामी तीन जना थियौँ । दुई जना साथी काठमाडौँ जानुभयो । म एक्लै भएँ, संयोगले तपाईंलाई साथी भेट्टाएँ”, उसले एकै सासमा भन्यो । 

मैले पनि आफ्नो नाम रमिता एम.बि.बि.एस. इन्ट्रान्स दिन धरान गएको बताएँ । करिब १५ मिनेट नारायणगढ बजारै बजार हिँडियो । कतै होटल पाइन्छ कि भन्ने आशा थियो । बजार बन्द, होटल पनि भरिभराउ । हामी थकित भइसकेका थियौँ । पर ठुलो होटल देखियो । सर त्यहाँ जाऊन मैले आग्रह गरेँ । होटल बन्द हुन लागेको रहेछ । काउन्टरको साहुले एउटा कोठा खाली छ, तर खाना भने पाइँदैन भन्यो । हामीलाई खानाभन्दा रात बिताउनु पर्ने थियो । कोठाको तीन हजार रुपियाँ पर्ने रहेछ । उसले भन्यो, “रमिताजी तपाईं यहीँ बस्नुस् म अन्तै जान्छु ।” कहाँ जानुहुन्छ अरू होटल छैनन् नि मैले भनेँ । मेरो एउटा समस्या थियो । मसँग दुई हजार रुपियाँ मात्र थियो कोठाको पैसा कसरी तिर्ने, मेरो बाध्यता बताएँ । ऊसँग पनि धेरै पैसा नभएको बतायो । दुवै जनाको बाध्यता थियो, एउटै कोठा सेयर गरेर बस्ने । यता हाम्रो गलफती हुँदै थियो । साहुले होटल बन्द हुन लागेको जनाउ दिइरहेको थियो । 

हामी एउटै रुममा बस्ने भइयो । अर्को विकल्प पनि थिएन । कताकता डर लागेको थियो । त्यसमाथि उसले श्रीमान् श्रीमती भनेर काउन्टरमा नाम लेखायो । मलाई असजिलो महसुस भयो । के लेखाउनु भएको भन्दै थिएँ । उसले इसाराले चुप लाग्ने आदेश दियो । होटलको भाइले हामीलाई कोठामा लग्यो । एउटा नवदम्पतीले हनिमुन मनाउन बुक गरेको कोठा रहेछ । बन्दले आउन नपाएर खाली भएको रहेछ । तपाईंहरूले पाउनु भयो भन्दै कोठा देखाएर होटलको भाइ फर्कियो । केठामा एउटा मात्र ओछ्यान थियो । कोठा सिँघारिएको र सफा थियो । हनिमुन मनाउन तयार गरेर राखेको भएर होला ? म कोठाभित्र पसेँ । चारैतिर नजर घुमाएँ । सुन्दर कोठा पनि उजाडिएको जस्तो लाग्यो । सबै कुरा मन रहेछ । मन खुसी भएको बेलामा झुपडी पनि महल देखिँदो रहेछ । मन अँध्यारो भएर होला सिँघारिएको कोठा पनि उजाड देखेँ । किन टोलाउनु भएको ड्रेस चेन्ज गरेर फ्रेस हुनुस् म बाहिर जान्छु भन्दै झोला भित्र राखेर ऊ बाहिर निस्क्यो । मैले हत्तपत्त कोठाको चुकुल लगाएँ । ठुलो सास फेरेँ । 

बाथरुम गएर फ्रेस भएँ । ड्रेस चेन्ज गरेँ । एक मनले ढोका खोल्दिनँ भन्ने सोचेँ । अर्को मनले होइन ढोका खेल्नु पर्छ भन्ने सोचेँ । करिब आधा घण्टा बितिसकेको थियो । ऊ ढोकाको छेउमा उभिएको थियो आज्ञाकारी बालक जस्तै । भित्र बोलाएँ । भित्र आउनेबित्तिकै झोलाबाट चाउचाउ झिक्यो । मैले बिस्कुट झिकेँ । दुई भाग लगाएर खायौँ । 

कोठाभित्र छिरेपछि हाम्रो बोलचाल भएको थिएन । बिस्कुट र चाउचाउ खाएपछि म ओछ्यानमा पसेँ र ब्लाङ्केटले सबै शरीर ढाकेँ । बाहिर पानी परिरहेको थियो । बिजुली पनि गयो । मनमनै भगवान्को नाम लिएँ । मलाई के को डर थियो त्यो पनि थाहा भएन । मनमा धेरै कुरा खेल्दै थिए । यात्राको थकाइ पनि धेरै नै थियो । कतिबेला निदाएछु पत्तै पाइनँ । 

बिहान बिउझिँदा पाँच बजिसकेको रहेछ । उसलाई हेरेँ कुर्सीमा निदाइरहेको थियो । मलाई ब्लाङकेटमा गुटमुटिँदा त जाडो भएको थियो । उसलाई कति जाडो भयो होला ? नजिकै गएर हेरेँ । कामे जस्तो लाग्यो, निधार छामे ज्वरो आएको थियो । ब्लाङ्केट ओढाइदिएँ । धेरैबेर कोठामा बस्न मन लागेन । बाहिर निस्केँ । सडकमा एउटा माइक्रोबस थियो । त्यसमा चढेँ । बाटामा कन्डक्टरले पैसा माग्यो । पर्स झिकेँ । मेरो दुई हजार पर्समा नै थियो । ला ! मैले त कोठाको भाडा दिनै बिर्सेछु भन्ने सम्झेँ । 

मलाई ग्लानि भयो । म कति स्वार्थी भएँ, आफ्नो मात्र सोचेँ । उसको बारेमा कत्ति पनि सोचिनँ ? ऊसँग पनि धेरै पैसा थिएन, त्यसमाथि ज्वरो आएको थियो । उसले मप्रति देखाएको व्यवहार सम्झेँ । उसको अनुहार झल्झली सम्झेँ । साँच्चै भनु मीरा ! उसले गर्दा मेरो केटामान्छेप्रतिको धारणामा परिवर्तन भयो । मैले केटा साथीको अर्कोपाटो जान्ने मौका पाएँ । जीवनमा लोग्नेमान्छेको साथको अनुभूति भयो । त्यस भगवान् जस्तो मान्छेलाई धन्यवाद पनि नदिई हिँडे । अझ कोठाको पैसा पनि तिरिनँ । मलाई पश्चाताप लागिरहेको छ । एक पटक उसलाई अँगालोमा बेरेर ‘थ्याङक्यु निश्चल, आई लभ यु’ भन्ने मन छ । रमिताले यति कुरा गरेर लामो सास फेरी । मीरासँग यति कुरा गरेपछि रमिताले मनमा गडेको गहिरो खिल निकाले झैँ अनुभूत गरी ।    

Author

शङ्करप्रसाद गौतम