• ६ पुस २०८२, आइतबार

परम्परा जोगाउन गुरौ सम्मेलन

blog

बुटवल समाचारदाता

बुटवल, जेठ २७ गते  । थारू समुदायको ऐतिहासिक र पुरानो धार्मिक परम्पराका रूपमा रहेको झारफुक गर्ने तथा धामीझाँक्री गर्ने संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीमा गुरौ (लामा) सम्मेलन सम्पन्न भएको छ।  

थारू समुदायमा झारफुक गर्ने तथा धामीझाँक्री गर्ने गुरुलाई गुरौ भनिन्छ। समय परिवर्तन हुँदै गर्दा गुरौ प्रथा पनि हराउँदै गएको भन्दै संरक्षण गर्न सम्मेलन गरिएको हो।  थारू कल्याणकारी सभा रुपन्देहीका पूर्वअध्यक्ष रामवली चौधरीले थारू समुदायका पुर्खाले गर्दै र मान्दै आएको गुरौ प्रथालाई अहिलेको पुस्ताले बिर्संदै गएको भन्दै गुरौ सम्मेलन आयोजना गरिएको बताउनुभयो। 

रुपन्देहीको सैनामैना उचडिहवास्थित थारू होमस्टेमा आयोजना गरिएको सम्मेलनमा थारू समुदायको प्राकृतिक चिकित्सा पद्धतिको पनि संरक्षण गर्नुपर्ने कुरामा जोड दिइएको छ। सम्मेलनका संयोजक तथा थारू कल्याणकारी सभा सैनामैनाका अध्यक्ष दुलबहादुर थारूले थारू समुदायका छोराछोरीको बिहेवारीमा थारू समुदायको गुरौले देउता दाहिना गर्ने, विवाहको एक दिनअघि माडो छुने र गाउँलेले स्थापना गरेको थारू समुदायकै मन्दिर (डिउहार) मा पूजा गर्ने प्रचलन रहेको बताउनुभयो।

थारू समुदायका गुरौले कोही बिरामी भए आफ्नै धार्मिक मान्यता र परम्परा अनुसार धामीझाँक्री गर्ने परम्परा रहेको अध्यक्ष थारूले बताउनुभयो। 

अध्यक्ष थारूका अनुसार थारू समुदायको प्राकृतिक चिकित्सा विधि गाउँघरकै जडीबुटीलाई आधार बनाएर स्वास्थ्य उपचार गर्ने प्रचलन रहेको छ।   

गुरौ सम्मेलनले थारू समुदायको पुरानो तन्त्रमन्त्र, धामीझाँक्री, पूजापाठलगायतको संस्कृति संरक्षण गर्न सहयोग मिलेको भन्दै आगामी दिनमा पनि यस प्रकारका सम्मेलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो।  

गुरौ सम्मेलनले गुरौहरूको सैनामैना नगरपालिकास्तरीय समितिसमेत गठन गरेको छ। दुलबहादुर थारूको अध्यक्षतामा गठन भएको समितिमा उपाध्यक्षमा कृष्णप्रसाद थारू, कोषाध्यक्षमा प्रकाश थारू, सचिव भागीरथी थारू र सहसचिवमा  केवलप्रसाद थारू रहनुभएको छ। सम्मेलनका अवसरमा सैनामैनाका ६० जना गुरौलाई सम्मान गरिएको थियो।