• ६ जेठ २०८१, आइतबार

नमुना संसदीय अभ्यास

blog

मकवानपुर समाचारदाता

हेटौँडा, जेठ २७ गते । बागमती प्रदेशका १३ जिल्लाबाट आएका युवाले संसद्को झझल्को दिने गरी संसदीय अभ्यास गरेका छन्। संसद् गठन, समिति निर्माणसँगै सरकार निर्माण गरी संसद्मा सरकारको बजेट पेस गर्नेदेखि विधेयक पेस गर्नेसम्मको अभ्यास चार दिनसम्म हेटौँडामा चलेको संसद्मा युवा सांसदहरूले गरेका थिए। 

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गर्दै गर्दा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश युवा परिषद्को आयोजनामा भएको बागमती प्रदेश युवा नमुना संसद् अभ्यास कार्यक्रमका क्रममा भने शुक्रबार युवामैत्री बजेट बहुमतले स्वीकृत भएको छ। नमुना संसद्ले सभामुख र मुख्यमन्त्रीको निर्वाचन गरेको थियो भने संसद्मा सहभागी दलले संसद्मा जस्तै दलको उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक, मन्त्रीको जिम्मेवारी सांसदहरूलाई दिएको थियो।  बजेट र विधेयकमाथिको छलफलमा नमुना संसद्मा समेत सांसदहरू प्रदेश सभा बैठक र सङ्घीय संसद्मा जस्तै पक्ष र विपक्षमा खुलेर बहस गरेका थिए। सभामुखले निर्देशन दिने, पालैपालो बोल्न दिने, सरकारको नीति तथा कार्यक्रम, मन्त्रीले बजेट र विधेयक सरकारको तर्फबाट पेस गर्ने र सत्तापक्ष र प्रमुख विपक्षी दलका सांसद अभिमतसहित धारणा राख्ने र अन्त्यमा मन्त्रीले विधेयक र बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिएपछि पारित गर्दै संसदीय अभ्यास गरिएको थियो। नमुना संसद्मा समेत फरक फरक वेशभूषामा सांसद सहभागी भएका थिए। 

कार्यक्रमको समापनमा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मुक्तानले संसदीय अभ्यासको कार्यक्रमलाई स्थानीय तहसम्म लैजानुपर्ने धारणा राख्दै राजनीतिक परिवर्तनबिना अन्य क्षेत्रको परिवर्तन असम्भव रहेको बताउनुभयो। उहाँले अहिले कर्मचारीदेखि सांसद र सरकारमा बस्नेलाई समेत भ्रष्टाचारमा संलग्न भएको आरोप लाग्ने गरेको बताउनुभयो।  प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले प्रदेश युवा नमुना संसद्मा कानुन निर्माण, सरकार र संसद् सञ्चालनलगायतका अभ्यास भएको बताउँदै अबका युवाले समाजको नेतृत्व लिने गरी काम र पहल गर्नुपर्नेमा जोड दिनुभयो।  नमुना संसद्मा ३८ सदस्य रहेकामा सत्तापक्षमा २३ र प्रमुख विपक्षमा १६ रहेका थिए। आठ मन्त्रालय बनाइएको थियो। मुख्यमन्त्रीको भूमिकामा काठमाडौँका आयुष श्रेष्ठ र सभामुखको भूमिकामा काभ्रेका आशिष पन्त रहनुभएको थियो।